२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

बाढी र पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने सरकारको निर्णय

मंगलवार , आश्विन २१, २०८२

  • 568
    Shares
  • 568
    Shares
  • काठमाडौं, २१ असोज । सरकारले बाढी र पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलवारको बैठकले मापदण्डअनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो । मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत पाउनेछन् ।

    बाढी पहिरोबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि ५० हजार रुपैयाँ दिने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार अस्थायी आवास निर्माणको लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण गरेपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको बताउनु भयो । उहाँले स्थायी आवास निर्माणको लागि भने हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘राहत वितरणको सम्बन्धमा जुन हाम्रो मापदण्डमा छ, मापदण्डअनुसार नै वितरण गर्ने भन्ने निर्णय भएको छ । राहत मृतकका परिवार, बेपत्ताका परिवारले पाउने हाम्रो मापदण्ड अनुरुपको रकम त्यो तत्काल नै दिने भन्ने निर्णय भएको छ । राहत तत्काल उपलब्ध गराउनको लागि गृहमन्त्रालयमार्फत निर्देशन दिईएको छ ।

    कसैको घर भत्किएमा तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रुपमा स्थायी आवासमा लिएर जाने भन्ने हुन्छ, अस्थायी आवसको लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ पाउँने, २५ हजार रुपैयाँ तत्काल पाउने र २५ हजार चाहीँ एक लेबलको घरको संरचना बनाइसकेपछि पाउने भन्ने मापदण्ड रहेको छ । यो चाहीँ रकम तत्कालै दिने जसको घर भत्केको छ ।’ 

    बैठकले सडक तथा अत्यावश्यक सेवा सुचारु गर्न तीन वटै तहका सरकारबीच समन्वय गर्ने निर्णय पनि गरेको छ । सडकहरु संघीय, प्रदेश र स्थानिय सरकारको भएको हुनाले तद् निकायले आफ्नो सडक सेवा, खानेपानी विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु तत्काल सञ्चालन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

    उक्त कार्यत्रका लागि प्रदेश र स्थातीय सरकारलाई केन्द्र सरकारले सहयोग गर्ने निर्णय भएको छ । विपद्पछि महामारीको संभावना देखिएकोले स्वास्थ्य मन्त्रालयसँगै प्रदेश र स्थानिय सरकारका स्वासथ्य संस्थाले संयुक्त रुपमा पहल गरेर शतर्कता अपनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

    बैठकमा विपद्मा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।