२०८२, आश्विन २१ गते

Oct 07 2025 | २०८२, आश्विन २१ गते

२ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण

मंगलवार , आश्विन २१, २०८२

  • 553
    Shares
  • 553
    Shares
  • काठमाडौं, २१ असोज । विश्व बैंकले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

    मंगलवार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२/८३ मा २.१ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । हालै भएको आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

    विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछिको वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो तर पछिल्लो परिस्थीतिलाई निहाल्दै विश्व बैंकले त्यसलाई घटाएको हो । पछिल्ला आन्दोलनहरुलाई विश्व बैंकले शासन प्रणाली प्रतिको असन्तुष्टि र मुलुकभित्र अवसरको अभावका रुपमा अथ्र्याएको छ ।

    मुलुकमा बढेको भष्ट्राचार, व्यवसायिक वातावरण बन्न नसक्दा  छिमेकी मुलुकहरुमा जस्तो नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर रहेको छ । प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाएको छ ।

    विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहानेस जुट्टले प्रतिवेदनमा भनेका छन्, “दक्षिण एशियामा ठूलो सम्भावना छ, तर देशहरूले जोखिमहरूलाई समयमै सम्बोधन गर्नुपर्छ । एआईको फाइदा लिन र व्यापारका अवरोध घटाउन सके देशहरूले उत्पादकत्व बढाउन, निजी लगानी ल्याउन र नयाँ रोजगारी सिर्जना गर्न सक्छन् ।’

    विश्व बैंकका अनुसार,सेवा क्षेत्रमा भने तुलनात्मक रूपमा कम शुल्क भएका कारण विगत दशकमा रोजगारीको तीन चौथाइ वृद्धि भएको छ । यस्तै चरणवद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्नसके, निजी लगानी र रोजगारी दुवै बढ्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।

    विश्व बैंककाअनुसार दक्षिण एशियाको आर्थिक वृद्धि यसवर्ष ६.६ प्रतिशत हुनेछ ।  विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०२६ मा दक्षिण एशियाको वृद्धि घटेर ५.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । यो अघिल्लो प्रक्षेपण भन्दा ०.६ प्रतिशत कम हो ।