
मंगलवार , आश्विन २१, २०८२
भैरहवा, २१ असोज । हाउजिङ एन्ड टेनन्स अर्गनाइजेसन नेपाल (एचटीओन) ले अन्तर्राष्ट्रिय भाडामा बस्नेहरूको दिवस–२०२५ को अवसरमा शुभकामना व्यक्त गरेको छ । संस्थाकी अध्यक्ष स्वाती थापाले शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय भाडामा बस्नेहरूको संघ (आयूटी) का अध्यक्ष मारी लिण्डरले जारी गर्नुभएको शुभकामना सन्देशप्रति हाउजिङ एन्ड टेनन्स अर्गनाइजेसन नेपालको ऐक्यवद्धता रहेको बताउनुभएको छ ।
यस्तो छ शुभकामना सन्देश
यस अन्तर्राष्ट्रिय भाडामा बस्नेहरूको दिवसमा, अन्तर्राष्ट्रिय भाडामा बस्नेहरूको संघ (आयूटी) ले विश्वभरका सरकारहरूलाई सहरी आवास संकटको समाधान गर्न हिचकिचाहट बिना, ठूला र संरचनागत कदमहरू चाल्न आह्वान गर्दछ । हाम्रो सहरहरूमा फैलिरहेको संकट अब केवल सस्तो आवासको समस्या होइन–यो सामाजिक एकता, लोकतान्त्रिक स्थायीत्व र मानव गरिमाको लागि खतरा बनेको छ ।
हालका वर्षहरूमा, आवास असुरक्षा कट्टरपन्थी शक्तिहरूको लागि उब्जनी जमिन बनेको छ । भाडा बढ्दै जाँदा र घर किन्न नसक्दा जनताको निराशा बढ्दै जान्छ । तर, संरचनागत असफलताहरू–सार्वजनिक आवासमा लगानीको कमी, भाडा बजारको नियमनको अभाव र आवासको वित्तीयकरणको सट्टा केही राजनीतिक नेताहरूले आप्रवासीहरू, अल्पसंख्यकहरू र सहरी समुदायहरूलाई दोषारोपण गर्छन् । यस्ता समुदायहरूले सिर्जना नगरेको संकटको दोष उनीहरूलाई दिने यो खतरनाक प्रवृत्तिले वास्तविक कारणहरूबाट ध्यान हटाउँछ ः लामो समयदेखि भएको कटौती, नाफामुखी जग्गा कारोबार र भाडामा बस्नेहरूको अधिकारको ह्रास ।
आयूटीले दृढ विश्वास गर्दछ कि आवास मानव अधिकार हो, व्यापारिक वस्तु होइन । सरकारले आवासलाई सार्वजनिक वस्तु मानी त्यसअनुसार कार्य गर्नुपर्छ । यसको अर्थ हो–सामाजिक र सस्तो आवासमा ठूला लगानी गर्नु, नीतिमा स्थायी भाडा सुरक्षा सुनिश्चित गर्नु र भाडामा बस्नेहरूलाई शोषणबाट जोगाउन बजार नियमन गर्नु । यसले भाडामा बस्नेहरूको यूनियनलाई नीतिमा वैध आवाजको रूपमा मान्यता दिनु पनि हो–संस्थागत सहयोग, सामाजिक संवादमा सहभागीता र कानूनी मान्यतासहित ।
हामी सरकारहरूलाई आग्रह गर्छौं कि आवास खर्चको बोझ कम गर्न राष्ट्रिय लक्ष्यहरू बनाउन्, जसअनुसार कुनै पनि परिवारले आफ्नो कुल आम्दानीको २५ प्रतिशत भन्दा बढी भाडामा खर्च गर्नुपर्छ । हामी सहरी विकासमा सामाजिक र सस्तो आवासको लागि न्यूनतम कोटा तोक्न माग गर्छौं, ताकि सहरहरू समावेशी र लचिलो बनून् । र, हामी माग गर्छौं कि सार्वजनिक जमिन जनताको आवश्यकता अनुसार प्रयोग गरियोस्–उच्चतम बोलीमा विक्री नगरियोस् ।
यस वर्षको विषय, सहरी आवास संकटको जवाफ, केवल नारा होइन–यो कार्यको आह्वान हो । हामी आवास संकटलाई समुदायहरूबीच पर्खाल बनाउने वा बहिष्करणको राजनीति बढाउने माध्यम बन्न दिनुहुन्न । यसको सट्टा, यो संकट न्याय, ऐक्यबद्धता र लोकतान्त्रिक पुनर्जागरणको उत्प्रेरक बन्नुपर्छ । हामी नाफा होइन, जनताको सेवाका लागि सहरहरू बनाऔं । हामी सुनिश्चित गरौं कि घरहरू सुरक्षित आश्रय हुन्, न कि नाफाको साधन । र हामी यो कार्यसँगै गरौं-ईंट–दर–ईंट ।
मारी लिण्डर
अध्यक्ष, अन्तर्राष्ट्रिय भाडामा बस्नेहरूको संघ (आयूटी)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij