
आइतवार , आश्विन १९, २०८२
भैरहवा, १९ असोज । बाढी, पहिरो र विपद्का कारण यातायात सञ्चालन नभएपछि रुपन्देहीको भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाईन्सले काठमाडौं लैजाने भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु र स्थलमार्गबाट काठमाडौं पुग्न नसकेका नागरिकलाई सोमबार (भोली) दिउँसो पौने २ बजे काठमाडौं–भैरहवा–काठमाडौं उडान गरेर ओसार्ने जनाएको छ । बाढी, पहिरो र विपद्का कारण रुपन्देहीलगायत जिल्लामा अलपत्र यात्रुको उद्वारका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले सोमबार दिउँसो पौने २ बजे काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतले अलपत्र यात्रुलाई सुविधा प्रदान गर्न सोमबार दिउँसो एयरबस ३२० बाट काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्न लागिएको बताउनुभयो । उहाँले अलपत्र यात्री, बिरामी, वैदेशिक रोजगारीमा जाने व्यक्तिको सुविधाका लागि १ सय ५८ सिटको न्यारोबडी जहाजले उडान भर्न लागेको जानकारी दिनुभयो ।
विपद्का कारण गन्तव्यमा पुग्न नसकेर अलपत्र व्यक्तिलाई लक्षित गरेर नेपाल नागरिक उड्यन प्राधिकरणले आज राति ९ बजे काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्न तय भएकोमा प्राविधिक कारणले रोकिएको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij