२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

वृन्दावनबाट फर्किएका तीर्थयात्रीहरु भैरहवामा

आइतवार , आश्विन १९, २०८२

  • 670
    Shares
  • 670
    Shares
  • भैरहवा, १९ असोज । भारतको वृन्दावन पुगेर फर्किएका तीर्थयात्रीहरु आइतबार रुपन्देहीको भैरहवामा रोकिएका छन् । शनिबार (हिजो) नेपाल फर्किएका करिब ५ सय जना तीर्थयात्रीहरु सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा बसिरहेका छन् ।

    मन्दिर समितिका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारका अनुसार वृन्दावन गइ फर्किएका यात्रुहरुलाई खाना र बस्ने व्यवस्था गरिएको छ । ‘जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा उहाँहरुलाई मन्दिर परिसरमा राखिएको छ, राती बास बस्न विभिन्न धर्मशालामा व्यवस्था गरिएको छ, ’रौनियारले भन्नुभयो । नेपाल फर्किएकामध्ये केही नजिकको जिल्लामा घर भएका यात्रुहरु आफ्नो घर र केही आफन्तको घरमा जानुभएको उहाँले जानकारी दिनुभयो ।

    बुटवलका केशव घिमिरे (करनधर दास) असोज १० गते तीर्थयात्रीहरु धार्मिक यात्राका लागि वृन्दावन पुगेको बताउनुभयो । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो, बाढी र डुबानले बाटो बन्द भएपछि यात्रुहरु भैरहवामा रोकिएको उहाँले बताउनुभयो । काठमाडौं, बनेपा, ललितपुर, काभ्रे लगायत नेपालका विभिन्न स्थानबाट यात्रुहरु रहेको उहाँले जानकारी दिनुभयो ।  

    स्थानीय विजय अधिकारीले तीर्थयात्रीहरुलाई स्थानीय व्यवसायीहरुले भोजनका लागि आवश्यक खाद्यान्न सामग्री सहयोग गर्नुभएको बताउनुभयो ।