२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

टोलको सुरक्षाका लागि स्थानीयको रात्रीकालिन गस्ती

आइतवार , आश्विन १९, २०८२

  • 598
    Shares
  • 598
    Shares
  • भैरहवा, १९ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित नयाँ कलोनीका स्थानीयबासीले रात्रीकालिन सुरक्षा गस्ती गरिरहेका छन् । जेनजी समूहको आन्दोलनपछि टोलमा भएको असुरक्षालाई मध्यनजर गरी नयाँ कलोनी टोल सुधार समितिको निर्णय अनुसार असोज १ गतेदेखि रातीमा सुरक्षा गस्ती सुरु गरिएको स्थानीय शोभाकान्त नेपालले बताउनुभयो । १०/१० दिनमा पालो लगाएर सुरक्षा गस्ती गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।

    रातको समयमा केही युवाहरू मदिरा सेवन गरी अस्वभाविक रुपमा मोटरसाईकल ठूलो आवाजमा कुदाउने र केही युवाहरू कुनामा लुकीलुकी भेटिने गरेको उहाँले बताउनुभयो । यस्ता गलत कार्य रोक्न स्थानीबासीहरु  सक्रिय रुपमा शान्ति सुरक्षा कायम गर्न खटिएको उहाँको भनाइ छ । ‘चाडपर्वको समयमा चोरी–डकैतीका घटना बढ्छन्, यो कुरालाई पनि मध्यनजर गरी गस्तीलाई निरन्तरता दिएका हौं, ’उहाँले भन्नुभयो । रातीको समयमा हिंडडुल गर्नेलाई सोधपुछ पनि गरिदै आएको उहाँले जानकारी दिनुभयो ।

    १ सय ५० बढी घरधुरी रहेको यस टोलमा प्रत्येक रात १० जनाको समूह बनाएर लाठी, सिट्टी र टर्च लाइटसहित गस्ती गरिएको स्थानीय गंगाधर भण्डारीले बताउनुभयो । चोरी, डकैती र अन्य विभिन्न अपराधिक गतिविधिबाट घर, टोल र समाजलाई बचाउन यो अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    558068316_24572702742371193_3792212244675563967_n.jpg

    सिद्धार्थनगर नगरपालिका–९ सहित रुपन्देही जिल्लाका विभिन्न स्थानमा स्थानीयले रात्री गस्ती गरिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाले टोल समुदायमा आम जनसमुदायले रातीमा गस्ती गरिरहेको र त्यो गस्तीमा प्रहरीको समन्वय हुने गरेको बताउनुभयो । टोल समुदायमा हुने गस्ती प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत पर्ने भएकाले गस्तीमा प्रहरीको समन्वय हुने गरेको उहाँले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नो घर छोडेर कहीकतै जाँदा नजिकको छिमेकी र प्रहरी कार्यालयमा पनि जानकारी गराउन आग्रह गरेको छ ।