२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने

आइतवार , आश्विन १९, २०८२

  • 400
    Shares
  • 400
    Shares
  • काठमाडौं, १९ असोज । शुक्रवार रातिदेखि सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ ।

    शुक्रवार र शनिवार रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीकाअनुसार महेशपुरमा करिव ३० घण्टामा ३५४.६ मिलिमिटर वर्षा भएको छ ।

    महेशपुरमा १९ घण्टा लगातार वर्षा भएको थियो । रौतहटको गौरमा ३ सय ३७ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । उहाँकाअनुसार बाराको कलैयामा ३ सय ३५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । इलामको हिमाल गाउँमा पछिल्लो २४ घण्टामा ३ सय ३४ मिलिमिटर वर्षा भएको छ ।

    यसबाहेक २ सय ५० देखि ३ सय मिलिमिटरको आसपासम्म करिव ४९ वटा केन्द्रमा अति भारी वर्षा भएको छ । यि केन्द्रहरु वागमती, मधेस र कोशी प्रदेशका हुन् । भारी वर्षा करिव ७५ वटा अन्य केन्द्रहरुमा भएको छ ।

    यि केन्द्रहरुमा २ सय ५० भन्दा कम र १ सय मिलिमिटर भन्दा बढी वर्षा भएको छ । कोशी, वागमती र मधेस प्रदेशको पूर्णतया क्षेत्रमा एवं लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा र गण्डकी प्रदेशको मध्य र पूर्वी क्षेत्रमा अति भारी वर्षा भएको छ । 

    यस्तो छ पछिल्लो अवस्था

    वरिष्ठ जलवायु विज्ञ पराजुलीकाअनुसार पछिल्लो अवस्थामा हाल वर्षा मध्य क्षेत्रबाट हटिसकेको  छ । पूर्वी क्षेत्रमा सामान्य वर्षा भइरहेको छ । अबको केही घण्टामा पूर्वी क्षेत्रबाट पनि वर्षा हट्ने बताउनु भयो ।

    हल्कादेखि मध्यम वर्षा कोशी प्रदेशको पहाडी, चुरे क्षेत्रमा र सुदूरपूर्व क्षेत्रमा वर्षा जारी रहने बताउनु भयो । अहिले ६ वटा नदीहरु खतरा तह भन्दा माथि छन् । सप्तकोशी नदी चतराले खतराको तह पार गरेको छ ।

    कोशी, गण्डकी र कर्णालीमध्ये कोशी नदीले मात्रै यस वर्ष खतराको तह पार गरेको बताउनु भयो । नारायणी र कर्णालीले हालसम्म खतराको तह पार गरेका छैनन् । मौसम विज्ञान भिवागले चतरालाई अति उच्च जोखिममा राखेको छ भने उदयपुर, सप्तरी र सुनसरीको लागि चेतावनी जारी गरिएको बताउनु भयो ।

    सप्तकोशीमा खतराको तह भन्दा माथिको वहाव बेलुकासम्म नै रहने बताउनु भयो । कन्काई नदीमा शतर्कता तह भन्दा माथि पानीको बहाव रहेको बताउनु भयो । सुनकोशीमा पनि खतराको तह भन्दा माथि वहाव छ भने अरुण र तमोर नदीमा पनि खतराको तह भन्दा माथिको बहाव छ । 

    यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने 

    वरिष्ठ जलवायु विज्ञ पराजुलीले देशको मध्य क्षेत्रबाट मनसुन निष्क्रिय भइसकेको कारणले तीन दिनको यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने बताउनु भयो । पहिरो, बाढीको अवस्थालाई मध्यनजर गरेर पुनःमूल्यांकन गर्न सकिने बताउनु भयो । कोशी पारीका जिल्लामा भने जोखिम कायमै रहेको बताउनु भयो । 

    विस्तारै मनसुनी प्रणाली निष्क्रियतातर्फ उन्मुख भइरहेको बताउनु भयो । उहाँकाअनुसार महेशपुरमा एक घण्टामा ९७.२ मिलिमिटर वर्षा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा हनुमन्ते, मनोहरा, वागमती, विष्णुमतीको तल्लो क्षेत्रमा डुबान रहेको भएपनि अहिले खतरा घटेको बताउनु भयो ।