
शनिवार , आश्विन १८, २०८२
काठमाडौं, १८ असोज । मधेस प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा अत्याधिक वर्षा भइरहेको र अति उच्च जोखिम रहेको सरकारले जनाएको छ ।
अति उच्च जोखिममा तराईका मधेस प्रदेशस्थित पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी रहेका हुन् । त्यस्तै वागमती प्रदेशका मकवानपुर, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ र रसुवामा अत्याधिक वर्षा भइरहेको र यि जिल्लालाई पनि अति उच्च जोखिममा वर्गीकरण गरिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताउनु भयो ।
उहाँकाअनुसार सरकारले हालको अवस्थालाई मध्यनजर गरी तीन वटा चरणमा वर्गीकरण गरेको छ । जसअनुसार उच्च जोखिममा मधेस प्रदेशका बारा, रौतहट, सर्लाही र महोत्तरी छन् ।
यि जिल्लाहरुमा १ सय १० मिलिमिटर वर्षा भइसकेको छ । त्यस्तै वागमती प्रदेशका मकवानपुर, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ र रसुवा जिल्ला पनि उच्च जोखिममा छन् ।
त्यस्तै दोस्रो उच्च जोखिममा रहेका जिल्लाहरुमा मधेस प्रदेशका सिराहा, धनुषा, सप्तरी रहेका छन् भने कोशी प्रदेशका उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, मोरङ र झापा छन् ।
वरिष्ठ जलविज्ञान विज्ञ पराजुलीकाअनुसार तस्रो सबैभन्दा धेरै उच्च जोखिम कोशी प्रदेशको इलाम, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु रहेका छन् भने वागमती प्रदेशका रामेछाप, दोलखा र चितवन रहेका छन् ।
उहाँकाअनुसार बारा, पर्सा र रौतहटमा भारी वर्षा भएको थियो । यि जिल्लाहरुमा ३ बजेसम्म वर्षा करिव २ सय मिलिमिटरसम्म भइसकेको छ । पछिल्लो तीन घण्टामा सय मिलिमिटरसम्म वर्षा भएको जानकारी दिनुभयो ।
बाराको कलैया, पर्साको वीरगञ्ज लगायतका उक्त जिल्लाका सबै केन्द्रहरुमा वर्षाले खतराको तह पार गरिसकेको बताउनु भयो । तराईका जिल्लामा डुबान शुरु भएको र स्थानीयवासीहरु सुरक्षित स्थानमा स्थानान्तरण भइरहेको बताउनु भयो ।
राति पहाडी र पूर्वी क्षेत्रमा विस्तार हुने भएकाले थप वर्षा हुने बताउनु भयो । यसले काठमाडौं आसपासका जिल्लाहरुमा क्षति गर्नसक्ने बताउनु भयो ।
वागमती नदीको तराईको क्षेत्रमा बहाव साढे चार मिटर पुगेको बताउनु भयो । आज बेलुकीसम्म शतर्कताको तह पार हुने बताउनु भयो । काठमाडौं उपत्यका, मकवानपुरको तल्लो तटीय क्षेत्रका सबै खोलानालाहरुमा शतर्कता तहमा रहेको बताउनु भयो ।
मरिन नदी र कमला नदी, पूर्व राप्ती पनि पनि शतर्कतको तहमा रहेको बताउनु भयो । अहिलेको वर्षा दुई सय मिलिमिटरको वर्षा रहेको र यो अति भारी वर्षा रहेको बताउनु भयो ।
पछिल्लो जानकारीअनुसार ९ वटा केन्द्रमा खतराको तह पार भएको बताउनु भयो । वागमती नदी जलाधारअन्तर्गत बाराको सिमरा विमानस्थल रहेको छ । जसमा पछिल्लो १२ घण्टामा १ सय ३७ मिलिमिटर र पछिल्लो २४ घण्टामा १ सय ३८ मिलिमिटर वर्षा भएको बताउनु भयो ।
बाराको निजगढमा पछिल्लो १२ घण्टामा १२४ मिलिमिटर वर्षा भएको छ भने बाराको परवानीपुरमा १५९ मिलिमटिर वर्षा पछिल्ला १२ घण्टामा भएको बताउनु भयो । वीरगञ्जमा २ सय मिलिमिटर वर्षा पछिल्लो १२ घण्टामा भएको छ ।
रौतहटको गौरमा पछिल्लो १२ घण्टामा २१२ मिलिमिटर वर्षा भएको छ भने रौतहटको गरुडामा १२६, रौतहटकै महेश्वरमा २०५ मिलिमिटर वर्षा भएको छ । पर्साको रंगपुरमा १३५ र पर्साकै मुडलीमा १७६ मिलिमिटर वर्षा पछिल्लो १२ घण्टामा भएको छ ।
काठमाडौंमा पछिल्लो १२ घण्टामा दक्षिणी क्षेत्रतर्फ भारी वर्षा भएको छ । लेलेमा ८६ मिलिमिटर, गोदावरीमा ९७ मिलिमिटर, खोपासीमा ८७, नैकापमा ८२ र कोर काठमाडौंको क्षेत्रमा कपनमा ५०, सुन्दरीजलमा ५०, पानी पोखरीमा ५० मिलिमिटर वर्षा भएको छ ।
तीन घण्टामा ३० मिलिमिटर भन्दा बढी वर्षा भएको अवस्थालाई काठमाडौंको शहरी क्षेत्रमा जोखिमको तह मानिएको बताउनु भयो । काठमाडौंमा पनि विस्तारै जोखिम बढ्दै गएको बताउनु भयो ।
काठमाडौं केन्द्रभित्रका दुई वटा जलमापन केन्द्रमा शतर्कता तह पार भएको छ । बालकुमारी महनोहरा खोलाले र वागमतीले खोकनामा शतर्कता तह पार गरेको बताउनु भयो ।
मनोहरामा ४.४ मिटर शतर्कताको तह थियो भने अहिले ४.४३ मिटर पुगेको छ भने खोकनामा ३.५ मिटर शतर्कताको तह रहेकोमा ३.५६ मिटर रहेको र तिब्र गतिमा बढ्दो रहेको बताउनु भयो । काठमाडौंमा स्वचालित बाढी मापन केन्द्रहरु नौ वटा रहेका छन् ।
अति उच्च जोखिममा परेका जिल्लाहरुमा भारी वर्षा र त्यसबाट उत्पन्न हुने जोखिम बाढी र पहिरो र डुबानलाई केन्द्रित गरी वर्गीकरण गरिएको बताउनु भयो । यसबारे शतर्कताका लागि १५ लाख भन्दा बढी एसएमएस पठाइएको बताउनु भयो । क्याटोगरी दुई र तीनमा रहेका जिल्लाहरुका लागि दोस्रो चरणमा एसएमएस पठाइने स्पष्ट पार्नुभयो ।
वर्षाले खतराको तह पार गरिसकेका बारा, पर्सा र रौतहटमा अहिले साइरन बजाइएको बताउनु भयो । बारा, पर्सा र रौतहटमा दुई घण्टाको अन्तरालमा एक सय ३० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । सय मिलिमिटर वर्षा भएकोलाई भारी वर्षा भनिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij