
शनिवार , आश्विन १८, २०८२
तिलोत्तमा, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले वर्ष दिनमा आउने चाडपर्वले हर्ष उल्लाससँगै आत्मीयता बढाउने बताउनुभएको छ । उहाँले देश विषम परिस्थितिमा रहेका बेला खुसीसाथ पर्व मनाउने वातावरण नबनेको भए पनि भेटघाट र अपनत्वले दुःख भुल्न सहज बनाउने बताउनुभयो ।
शनिबार तिलोत्तमा–६ स्थित मानवसेवा आश्रममा आयोजित दशैंको टीका लगाइदिने कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले मानव सेवा जीवनको परम कार्य भएकाले मानवसेवा आश्रमले गरिरहेको कार्य सराहनीय भएको बताउनुभयो । उहाँले यस कार्यमा नगरपालिका समेत होस्टेमा हैसें मिलाएर अघि बढेको बताउनुभयो । नगरभित्र कुनै नागरिकले पनि सडकमा बास गर्नु नपर्ने वातावरण बनेको उहाँले बताउनुभयो ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले देशमा एउटा पीडादायी क्षणपछि अवस्था सामन्य बन्दै गइरहेको बताउनुभयो । उहाँले चाडपर्व लक्षित सुरक्षामा प्रशासन अनवरत रुपमा लागेकाले रुपन्देहीबासी त्यति धेरै चिन्तित हुन नपर्ने बताउनुभयो । उहाँले मौसमको प्रतिकुलता रहने जानकारी आइसकेकाले सावधानीपूर्वक उच्च जोखिम क्षेत्रका नागरिकलाई सतर्क गराउन माइकिङ गर्ने, विपत आइपरेमा उनीहरूको स्थानान्तरण लगायत का विषयमा समेत छलफल गरी तयारी गरिरहेको बताउनुभयो । पाण्डेले मानव सेवा आश्रमले सरकारले गर्न नसकेको काम गरेकोमा खुसी व्यक्त गर्दै परोपकार गर्नु जीवनको मूल्य बुझ्नु रहेको जनाउनुभयो । उहाँले दशैंको अवसरमा आफू पनि आश्रममार्फत सेवा कार्यमा सरिक हुन पाउनु सतकर्मको फल भएको भन्दै जिल्लामा राम्रा काम गर्ने संस्था, स्थानीय तह र नागरिक भएकाले जिल्ला शान्त र सुरक्षित रहनेमा निश्चित रहेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा–६ का अध्यक्ष गणेश पाठक, मोक्षधामका अध्यक्ष टीकाराम पाण्डे, मानव सेवा आश्रमका सरु अधिकारी, शेर बहादुर पन्त लगायतको उपस्थिति थियो । आश्रममा आश्रय लिइरहेका १ सय ६० जनालाई टीका र जमरा लगाइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij