२०८२, आश्विन २० गते

Oct 06 2025 | २०८२, आश्विन २० गते

लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द

शनिवार , आश्विन १८, २०८२

  • 583
    Shares
  • 583
    Shares
  • भैरहवा, १८ असोज । बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रबाहिर गर्ने सवारी साधनको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारी साधन र काठमाडौं उपत्यका भित्रबाहिर गर्ने सवारी साधन मिति २०८२ असोज १८, १९ र २० गतेका लागि पूर्णरूपमा बन्द गरिएको छ ।

    यो अवधिमा अत्यावश्यक सेवाबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्न नगराउन भनिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै “भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न सवारी आवागमन असोज १८, १९ र २० गतेका लागि पूर्णरूपमा बन्द गरिएको बताएको छ ।

    यातायात व्यवसायीलाई अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारी आवतजावत बन्द गराउन तथा निरन्तर अनुगमन र निगरानी गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

    यात्रुहरूलाई यो अवधिमा अत्यावश्यक बाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक सूचना रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत प्राप्त गर्न आग्रह गरिएको छ ।

    भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावकारी अनुगमन र व्यवस्थापनमा जोड दिइएको छ ।

    सवारी साधन आवतजावतमा रोक लगाइएका कारण यात्रुहरूलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। विपद्सम्बन्धी थप जानकारी र अद्यावधिक सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल ह्यान्डलहरूमा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।