२०८२, आश्विन १६ गते

Oct 02 2025 | २०८२, आश्विन १६ गते

रुपन्देही पूर्ण सुरक्षित छ, निश्चिन्त भएर चाडपर्व मनाउनुहोस् : प्रजिअ पाण्डे

बुधवार , आश्विन १५, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १५ असोज । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले रुपन्देही जिल्ला पूर्ण सुरक्षित रहेको बताउनुभएको छ । उहाँले निश्चिन्त भएर चाडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गर्नुभएको हो ।

    फुलबारी सेवा समाज एवं श्री दुर्गा, शिव तथा कृष्ण मन्दिर सिद्धार्थनगर नगरपालिका–४ ले मंगलबार भैरहवामा आयोजना गरेको माँ भगवती रात्री जागरणको उद्घाटन गर्दै प्रजिअ पाण्डेले यस्तो बताउनुभएको हो ।

    ‘कुनै गलत व्यक्ति तपाईको घर, टोल, गाउँ, वडामा आएको शंका लागेमा हामीलाई खबर गर्नुहोला, सुरक्षाकर्मी १० मिनेटमा तपाईकहाँ पुग्नुहुन्छ, ’उहाँले भन्नुभयो । साथै भिडियो, फुटेज, फोटो पनि राख्न र गलत काम गर्ने व्यक्ति सुरक्षाकर्मीलाई बुझाउन उहाँले आग्रह गर्नुभयो । 

    रुपन्देही जिल्लाभरी संयुक्त सुरक्षा फौज परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । प्रजिअ डा. पाण्डेले गलत गर्ने व्यक्तिलाई पक्राउ गरी कानूनी कारवाही गरिने बताउनुभयो । 

    ‘प्रहरी–प्रशासन तपाईको साथमा छ, हामी यहाँहरुको सुरक्षाका लागि हौं, तपाईको सुरक्षा गर्न सकेनौ हाम्रो सार्थकर्ता रहदैन, ’उहाँले भन्नुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रहरी–प्रशासनको जिम्मेवारी भएको र त्यसमा नागरिकका साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

    वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा समाजसेवी अर्जुन गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भारतबाट आएका सन्नी जगरता परिवार लगायतको प्रस्तुती रहेको थियो ।