
बुधवार , आश्विन १५, २०८२
भैरहवा, १५ असोज । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुङ्गास्थित श्री दुर्गा मन्दिर र श्री बृषेश्वर शिव मन्दिर परिसरमा घटस्थापना (नवरात्र) सुरु भएको दिनदेखि एकजना स्थानीय केही नखाइ भुँइमा सुतिरहनुभएको थियो । उहाँ हुनुहुन्छ सोही मन्दिरका पूजारी ६१ वर्षिय केशव खवास । घटस्थापनाको दिनदेखि उहाँले आफ्नो शरीरको माथि (वरपर) जमरा राख्नुभएको थियो । उहाँ पानी पनि नखाइ व्रत बस्नुभएको थियो ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार घटस्थापना सुरु हुनु केही दिन अघि नै खवासले पानी र खानेकुरा खान बन्द गर्नुभएको थियो । घटस्थापना सुरु भएको दिनदेखि उहाँ केही नखाइ सुत्नुभएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
‘परासीझुङ्गामा रहेको श्री दुर्गा मन्दिर र श्री बृषेश्वर शिव मन्दिर ऐतिहासिक धार्मिकस्थल हो । दुई वर्षअघि पनि केशव खवासले यसै गरी पानी पनि नखाइ व्रत बस्नुभएको थियो, अहिले उहाँको यो दोस्रोपटक हो, ’अध्यक्ष यादवले भन्नुभयो । आफू यस वर्ष दुई–तीन पटक मन्दिरमा आएरर पुजारी केशव खवासलाई भेटेको उहाँले जानकारी दिनुभयो ।
पूजारी केशव खवासले आफूले विगत १५ दिनदेखि अन्न, पानी, मलमूत्र त्याग गरेर व्रत बसेको बताउनुभयो । विश्वका सबै जनताको कल्याण होस् भन्ने कामना गर्दै आफू व्रत बसेको उहाँको भनाइ छ । ‘मंगलबार खबरपात्रोसँग कुराकामी गर्दै उहाँले भन्नुभयो मलाई विश्वास छ, मैले गरेको कामना अवश्य नै पूरा हुनेछ ।’
स्थानीय श्याम धवलले पूजारी केशव खवासको मनोकामना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
विजया दशमी अन्तर्गत महानवमीको दिन बुधबार उहाँले व्रत समापन गर्नुभएको छ । समाजसेवी राजकुमार यादवले जुस खुलाएपछि खवासले व्रत तोड्नुभएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij