
मंगलवार , आश्विन १४, २०८२
काठमाडौं, १४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको म्याण्डेट क्यारी गर्न सक्ने सम्भावना नरहेको बताउनुभएको छ । विजया दशमी–२०८२ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै बस्नेतले सरकार लोकप्रियता, स्टन्ट, बदला र प्रचारबाजीमै सीमित रहने देखिएको भन्दै सरकारमाथि थप खबरदारी कायम राख्न युवालाई सुझाव दिनुभएको छ ।
बस्नेतले भन्नुभयो–‘वर्तमान सरकारले आन्दोलनको मर्म बुझेको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्न सक्नुपर्छ । २०८४ मा हुने निर्वाचनलाई २०८२ फागुनमा गर्नका लागि यो सरकार बनाइएको होइन । यसो भयो भने आन्दोलनमाथि सबैभन्दा ठूलो धोका हुन्छ । निर्वाचनसँगै आन्दोलनको औचित्य समाप्त हुन्छ ।’
भ्रष्टाचार काण्डको छानबीन गरी कारबाही गर्ने जेनजी आन्दोलनको अर्को म्याण्डेट भएको बस्नेत बताउनहुन्छ । सुशासनको जग बसाउन वर्तमान सरकारले निर्मम कदम चाल्न हिम्मत गर्नुपर्ने उहाँको भनाइ छ ।
जसको नीति उसकै नेतृत्व हुन नसकेको कारण आन्दोलनका उपलब्धी गुम्ने खतरा भएको उहाँको टिप्पणी गर्नुभयो । जेनजी युवाले नै वर्तमान सरकारको नेतृत्व गर्नुपर्ने उहाँको धारणा छ । सेलिब्रटी सरकारले चूनौतिपूर्ण राजनीतिक नेतृत्व गर्न कठिन हुने उहाँको बुझाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij