
सोमवार , आश्विन १३, २०८२
भैरहवा, १३ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा ‘हाई मास्ट लाइट’ (टावर लाइट) जडान गरिएको छ । भैरहवा–मर्चवार सडकखण्ड अन्तर्गत गाउँपालिकाका चारवटा चोकमा उक्त लाइट जडानपछि आवतजावतमा सहज हुनुको साथै व्यवसायिक कार्यमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । लाइट जडान भएपछि स्थानीयले खुसी समेत व्यक्त गरेका छन् ।
कोटहीमाई–३ का स्थानीय युवा हरिकेश पालले उक्त लाइटले नागरिकलाई धेरै फाइदा पुगेको बताउनुभयो । मुख्य सडकमा लाइट जडानले सवारी दुर्घटनाका साथै लुटपाट लगायतका घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै स्थानीय व्यवसायी मोहम्मद आरिफ खानले कोटहीमाई गाउँपालिकाले लाइट जडान गर्नु सराहनीय कार्य गरेको बताउनुभयो । मुख्य चोकहरुमा अत्याधिक भिडभाड हुँदा सवारीचालकले प्रष्ट देख्न सक्ने भएकाले यसले दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने उहाँले बताउनुभयो । उहाँले पछिल्लो समय भइरहेका चोरी तथा लुटपाटका घटनामा समेत कमी आउने विश्वास व्यक्त गर्नुभयो । व्यवसायी खानले बाँकी रहेका अन्य चोकहरुमा समेत लाइट जडान गर्न गाउँपालिकासँग माग राख्नुभयो ।
गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले ‘उज्यालो कोटहीमाई गाउँपालिका’ अभियान अन्तर्गत टावर लाइट जडान गरिएको बताउनुभयो । रातीको समयमा अन्धकार हटाएर चोक, सडक, मठमन्दिर, स्वास्थ्य चौकी लगायतका सार्वजनिक स्थलमा टावर लाइट, सोलार लाइट लगायतका बत्तीहरु जडान कार्य भइरहेको अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुवाती चरणमा वडा नम्बर ३ को मर्यादपुर, ५ को मझगावाँ र दुईमोहान तथा वडा नम्बर ७ को परसहवा बजारमा लाइट जडान भइसकेको जानकारी दिनुभयो । रुपन्देहीको दक्षिण क्षेत्र मर्चवारमा पर्ने कोटहीमाई गाउँपालिकामा ७ वटा वडाहरु छन् । मर्चवार क्षेत्रलाई अन्नको भण्डार भनेर पनि चिनिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij