२०८२, आश्विन १३ गते

Sep 29 2025 | २०८२, आश्विन १३ गते

मिथिलाञ्चल समाज रुपन्देहीद्वारा झिझिया कार्यक्रम

सोमवार , आश्विन १३, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, १३ असोज । मिथिलाञ्चल समाज रुपन्देही, सिद्धार्थनगर–६ भैरहवाले विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान एवं साँस्कृतिक झिझिया कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । समाजका अध्यक्ष अमर कुमार झाको अध्यक्षता तथा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख शम्भु कुसियत यादवको प्रमुख आतिथ्यतामा आइतबार साँझ कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रमको उद्घाटन गर्नुहँुदै यादवले मिथिला संस्कृतिले नेपालको विविधतालाई अझ सबल बनाएको बताउनुभयो । उहाँले परम्परागत संस्कार, संस्कृति र पर्वले समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको जोड दिनुभयो । 

    उहाँले सबैमा पर्वले ल्याउने एकता, सहयोग र सद्भावलाई आत्मसात् गर्न आग्रह गर्दै मिथिला संस्कृतिको मौलिक परम्परालाई जीवित राख्न यसप्रकारका कार्यक्रम आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले विविधतामध्ये एकताको सन्देश दिने परम्परागत पर्वलाई जगेर्ना गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै मिथिला समाजमा यसको छुट्टै महत्व भएको बताउनुभयो ।

    समाजका अध्यक्ष अमर कुमार झाले झिझिया कार्यक्रम मिथिलाबाट सुरु भए पनि यो भैरहवा लगायत अन्य ठाउमा पनि मनाउन थालिएको बताउनुभयो । उहाँले भैरहवामा मिथिलाञ्चल समाजको छिट्टै नै सभाहल समेत बनाउने बताउँदै समाजलाई अझ सशक्त, संगठित र साँस्कृतिक चेतनायुक्त बनाउन निरन्तर यस्ता कार्यक्रम गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले सबैलाई विजया दशमी, दीपावली र छठ पर्वको शुभकामना दिंदै एकता, सहयोग र सद्भावले मात्र समाज सबल बन्ने उल्लेख गर्नुभयो ।

    कार्यक्रममा समाजका सचिव उषा पाठकले झिझिया पर्वको महत्वबारे विस्तृत जानकारी दिदै यसलाई धार्मिक, सामाजिक र साँस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले झिझियाले समाजमा सामूहिकता, महिलाको सहभागिता र संस्कृति संरक्षणमा जागरण ल्याउने धारणा राख्नुभयो ।

    मैथिल समाज नेपाल, बुटवलका सचिव मनोज कुमार मण्डलले मिथिला संस्कृतिको महिमा वर्णन गर्दै संस्कृति हराउनु भनेको अस्तित्व हराउनुभएकोले आजका सन्तानलाई सही जानकारी, शिक्षा र अभ्यास दिन सके मात्र हाम्रो मौलिकता भविष्यसम्म सुरक्षित रहने विश्वास व्यक्त गर्नुभयो । त्यसै गरी समाजसेवी रीता साहले महिलाको सक्रियता बिना कुनै पनि पर्व पूर्ण हुन नसक्ने भन्दै महिलाहरूले झिझियामा देखाएको अग्रणी भूमिकाले समाजलाई अझ प्रगतिशील बनाएको बताउनुभएको छ । उहाँले झिझिया महिला सशक्तिकरण र सामूहिकतासँग जोडिएको पर्व भएकोले यसलाई निरन्तरता दिन हामी सबै कटिबद्ध हुनुपर्ने जोड दिनुभयो ।
    त्यसै गरी वैश्य युवा समाज, भैरहवा रुपन्देहीका अध्यक्ष तारकेश्वर कान्दुले भैरहवामा आयोजना भएको यो कार्यक्रमले युवाहरूलाई संस्कृति संरक्षणमा नेतृत्व लिन आह्वान गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘हामी युवाले आफ्नो मौलिक संस्कृतिको रक्षा गर्न सक्यौं भने मात्र आधुनिकताको बीचमा हाम्रो पहिचान बलियो हुन्छ ।’ 

    कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष अशोक कुमार साहले स्वागत मन्तव्य राख्नुहुँदै मिथिलाञ्चल समाज रुपन्देहीले हरेक वर्ष आफ्ना मौलिक पर्वलाई उत्साहपूर्वक मनाउँदै आएको बताउनुभयो । उहाँले समाजको उद्देश्य केवल पर्व मनाउनु मात्र नभइ यस अवसरमा आपसी मेलमिलाप र भाइचारा प्रवद्र्धन गर्नु भएकोले उपस्थित सबैको सहभागीताले समाजमा एकता अझ प्रगाढ भएको बताउनभयो ।

    मिथिलाञ्चल समाज रुपन्देहीका महासचिव सियाराम यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानसँगै स्थानीय कलाकारहरू अंजली, मन्जु, दुर्गावती, जान्हवी झा, आरुषी झा, पुजा, निशा, चिम्की, सृष्टि पण्डित, आहुना, अनन्या, आरुषी, मिना शाह, लक्ष्मी महासेठ, मधु पण्डित, अनिता साह, रिन्कु महासेठ, बबिता झा, मीना कर्ण, हिना कर्ण, ममता कर्ण, रुवी कर्ण, अनिता कर्ण, तारादेवी यादव, जान्हवी मिश्रा, सुजनी कर्ण लगायतले मिथिला संस्कृतिमा आधारित गीत–संगीत प्रस्तुत गर्नुभएको थियो । झिझिया नृत्यले कार्यक्रममा विशेष आकर्षण थपेको थियो । सहभागीहरूले पारम्परिक भेषभूषा र गीत–संगीतमार्फत मिथिला संस्कृतिको सौन्दर्य झल्काएका थिए ।

    आयोजक समितिले यसपटकको कार्यक्रमलाई वार्षिक परम्परा बनाएर अझ विस्तृत रूपमै गर्ने घोषणा गरेको छ ।