
सोमवार , आश्विन १३, २०८२
काठमाडौं, १३ असोज । अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपालको अर्थनीति र परराष्ट्र नीति असफल भएकोले नेपालमा जेन—जी विद्रोह भएको दाबी गर्नुभएको छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले पछिल्लो १५ वर्षको असफल आर्थिक नीति र हालको कमजोर परराष्ट्र नीति कारण युवाहरुले असंगठित विद्रोह गरेको बताउनुभएको हो ।
उहाँकाअनुसार आर्थिक मोर्चामा समयमै सुधार नहुँदा र अन्तर्राष्ट्रिय सम्बन्धमा परम्परागत मित्र राष्ट्रहरूसँगको समन्वय टुट्दा हालको विस्फोटक अवस्था सिर्जना भएको हो । नेपालले पछिल्ला वर्षमा अपनाएको आर्थिक नीतिले उत्पादनमुखी संरचना विकास गर्न नसेको उहाँको भनाई छ ।
पछिल्लो चार–पाँच वर्षमा विदेशी मित्रराष्ट्रहरूसँगको परम्परागत सम्बन्ध पनि बिग्रँदै गएको छ । नेपालले अन्तर्राष्ट्रिय परिवर्तनहरूलाई बुझ्ने र अनुकुल नीतिगत रूपान्तरण गर्ने अवसर गुमाएको उहाँले बताउनु भयो ।
‘नेपालले अवलम्वन गरेको अर्थनितिका कारणले यहाँ असंगठित विद्रोह हु्न्छ भनेर मैले भनिएको मान्छे हो । ४/५ वर्षदेखी नै । त्यसले एउटा विस्तारै विस्तारै विस्फोटक अवस्था निर्माण गर्दै थियो ।
त्यसलाई पछिल्लो अध्यायमा आएर हाम्रा अन्तर्राष्ट्रिय मित्रशक्तिहरुसँगको परम्परागत सम्बन्धका आधारमा उनीहरुकको सल्लाह सुझाव र अन्तर्राष्ट्रिय राजनितिमा आइरहेको परिवर्तनलाई सम्बोधन गर्ने काम हामीहरुबाट भएन ।
कुल मिलाएर आर्थिक नितिको लगभग १५/१६ वर्ष देखिको असफलता र तुरुन्त ३/४ वर्षदेखिको परराष्ट्रनितिको असफलताको कारणले नेपालमा एक किसिमको विद्रोहको परिस्थिति निर्माण भएको थियो । जेनेरेसन जेडका युवाहरुले त्यसलाई पहिलो दिन विद्रोहको स्वरुप दिए’, उहाँले भन्नु्भयो ।
सुवेदीकाअनुसार जेनेरेशन जेड, अल्फा र मिलिनियल पुस्ताको आकांक्षाअनुसार कानूनी र नीतिगत सुधार नगरेर नेपालले ठूलो अवसर गुमाएको छ ।
नेपालले उनीहरूका आकांक्षालाई सम्बोधन गर्ने वातावरण नै बनाउन नसकेको उहाँले बताउनु भयो । विदेश नीतिमा पनि नेपालले समदूरीको नीति अपनाउने नाममा आफ्ना वास्तविक चाखहरू नजरअन्दाज गरेको उहाँको भनाई छ ।
‘हामीले मित्रराष्ट्रहरूसँग केस–टु–केस आधारमा राष्ट्रिय चाखअनुसार सम्बन्ध विकास गर्नुपर्छ,’ उहाँको सुझाव छ । नेपाल सामरिक हिसावले पनि महत्वपूर्ण स्थानमा रहेकोले अन्तर्राष्ट्रिय शक्तिहरुको चासो स्वभाविक रुपमा रहने बताउनु भयो ।
नेपालको रहेक गतिविधिमा अन्तर्राष्ट्रिय शक्तिहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार हुने उहाँको भनाई छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij