
सोमवार , आश्विन १३, २०८२
भैरहवा, १३ असोज । रुपन्देहीको भैरहवामा सञ्चालित ‘दशैं सस्तो बजार–२०८२’ मा करिब ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा असोज ८ देखि १२ गतेसम्म बजार सञ्चालन भएको थियो ।
पाँचदिने बजारमा ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएकोमा ३५ लाख बराबरको कारोबार तथा १० हजार बढी उपभोक्ता एवं अवलोकनकर्ताको उपस्थिति भएको संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो । बजारमा १९ वटा स्टलहरु रहेको उहाँले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका–१२ कालिकापथस्थित संघको परिसर (भवन) मा सञ्चालित बजारमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडा, घरेलु उत्पादन लगायतका स्टलहरु रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।
‘दशैं सस्तो बजार सफल पार्न सहयोग गर्नुहुने उद्योगी–व्यवसायी, आम उपभोक्ता तथा सञ्चार जगतलाई धन्यवाद दिन चाहन्छु, ’उहाँले भन्नुभयो–‘यो बजार विगतको भन्दा अझ उत्कृष्ट भएको उपभोक्ताहरुले बताउनुभएको छ ।’
बजारमा उपलब्ध मुस्ताङको स्याउदेखि स्थानीयस्तरमा उत्पादित वस्तुहरु उपभोक्ताले खरिद गर्नुभएको उहाँको भनाइ छ । आगामी दिनमा पनि मेला, महोत्सव र दशैं सस्तो बजारलाई निरन्तरता दिइने अध्यक्ष आचार्यले बताउनुभयो ।
आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दशैं, तिहार, छठ पर्व लगायतका महान पर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने उद्देश्यले दशैं सस्तो बजार सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष आचार्यका अनुसार संघले भैरहवामा पहिलोपटक वि.सं. २०५८ सालमा दशैं र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दशैं बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
संघका महासचिव कृष्ण प्रसाद घिमिरेले दशैं सस्तो बजारमा उपभोक्ताको भिड लागेको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका सुरेन्द्र क्षेत्रीले आफू सीमा क्षेत्रमा बस्दै आए पनि सीमापारी भारतीय बजारमा जानु भन्दा स्वदेशी बजारमै सामान खरिद गर्न आएको बताउनुभयो । उहाँले स्वदेशी बजारको प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij