२०८२, आश्विन ११ गते

Sep 27 2025 | २०८२, आश्विन ११ गते

बेलहियामा पर्यटकलाई स्वागत तथा सम्मान

शनिवार , आश्विन ११, २०८२

  • 343
    Shares
  • 343
    Shares
  • भैरहवा, ११ असोज । शनिबार (आज) बिहान ९ बज्नै लाग्दा नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियामा फरक माहौल देखियो । नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ जानआउन हतारिनेहरु केहीबेर रोकिदै यताउता हेरिरहेको देखिए । बिहानैदेखि प्रवेशद्वारमा निरन्तर नेपाली राष्ट्रिय गीत बजिरहेको थियो । भारतबाट दशैं मनाउन स्वदेश फर्किएकाहरु मात्रै नभएर नेपाल घुम्न आएका विदेशी मानिसहरु अनुहारमा समेत उल्लास छाइरहेको थियो ।

    नेपाल प्रवेशद्वारसँगै टाँसिएर निर्माण भएको एउटा टेण्टमा जब पर्यटन व्यवसायी मन्जु गिरीले बोल्न लाग्नुभयो–तब यत्रतत्र छरिएकाहरु त्यहाँ राखिएका कुर्चीमा बस्न थाले । केहीबेरमै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले चारजना विदेशी पर्यटकलाई खादा, माला र बुद्ध अंकित मायाको चिनो दिएर सम्मान गरेपछि माहौलमा रौनकता सिर्जना भयो ।

    विश्वभरीका पर्यटन व्यवसायीले मनाउने विश्व पर्यटन दिवसको अवसर पारेर सेप्टेम्बर २७ अर्थात असोज ११ गते शनिबार सीमा नाका बेलहियामा पनि नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले नेपाल प्रवेश गर्ने पहिलो चारजना पर्यटकलाई सम्मान गर्दाको क्षण गज्जब देखियो । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई स्वागत गरियो । अप्रत्याशित सम्मान पाउँदा विदेशी पर्यटकहरु खुसीले गदगद भए, हर्षविभोर हुँदै सम्पूर्ण नेपालीप्रति कृतज्ञता व्यक्त गरे ।

    सम्मानपछि बोल्दै अष्ट्रेलियादेखि नेपाल घुम्न आउनुभएकी बारबरा डोराले भन्नुभयो–‘नेपाल जस्तो सुन्दर देश घुम्न आउने क्रममा सीमा नाकामै गरिएको सम्मानले म अत्यन्तै खुसी छु । नेपाली र नेपालप्रतिको माया अझै बढेर गएको छ ।’

    डोरा जस्तै नेदरल्याण्डदेखि नेपाल घुम्न आउनुभएका मार्सल कैयवरले नेपाल प्रवेश गर्नासाथ यसरी स्वागत गरेको देखेर दंग परेको बताउनुभयो । कैयवरले भन्नुभयो–‘ म त आश्चर्यमा परेको छु, नेपाल प्रवेशद्वारमा यसरी सम्मान गरेपछि मलाई नेपालका गाउँठाउँमा झनै कति स्वागत र सम्मान होला भनी कौतुहलता जागेको छ ।’ उहाँले नेपालीहरुको अतिथिहरुलाई गर्ने सत्कार संसारकै उदाहरणीय रहेको पनि बताउनुभयो ।

    त्यसै गरी सो अवसरमा दुईजना भारतीय पर्यटकलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा भारतीय पर्यटकहरु डा. संजय सिंह र बिनोद मिश्रा रहेका रहनुभएको छ । भारतीय पर्यटकद्वय सिंह र मिश्रा बुटवल हुँदै पाल्पातर्फ जानुभएको छ । सम्मानपछि डा. सिंहले नेपालीहरुले गर्ने व्यवहार र सम्मान संसारले सिक्नुपर्ने बताउनुभयो ।

    नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशले अष्ट्रेलियन नागरिक डोरा, नेदल्याण्डबाट आएका कैयबर र दुईजना भारतीय पर्यटकको लागि पहिलो गन्तव्य सम्मको एकदिनको यातायातको व्यवस्था र एकरातको होटल खर्चको व्यवस्थापन गरेको छ ।

    पर्यटकलाई स्वागत गर्दै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको विकासको लागि विदेशी पर्यटकको स्वागतमा सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले पर्यटन प्रबद्र्धनका लागि विशेष ढंगले काम गरिरहेको बताउनुभयो ।

    सो अवसरमा नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले नाट्टा लुम्बिनीले निस्वार्थ भावले नेपालको पर्यटनको विकासमा काम गरिहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामी पर्यटन व्यवसायीहरु र सरकारी निकाय एकताबद्ध भइ विदेशी पर्यटकको सहजताका लागि आ–आफ्नो क्षेत्रबाट सहकार्य गरी काम गर्नुपर्छ । ’

    कार्यक्रममा बौद्ध भिक्षु सुमंगलोले नेपालको धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरुले विदेशीलाई आकर्षित गरिरहेको बेला सबै नेपालीहरु समता भावको साथ एकताबद्ध भइ पर्यटन प्रबद्र्धनमा लागेमा देश विकास हुने बताउनुभयो ।

    पर्यटन व्यवसायी कृष्ण प्रसाद अधिकारी (सागर) ले गुणस्तरीय पर्यटकको नेपाल बसाई लम्बाउन सके मात्र नेपालको पर्यटन विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘नेपालको समृद्धिको आधार भनेको पर्यटन हो । सरकारले पर्यटनका लागि विशेष योजना साथ काम गर्नुपर्छ । विदेशी त्यसमा पनि भारतीय पर्यटक लक्षित योजना बनाउनुर्छ ।’ नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटकहरु बेलहिया नाकाबाट प्रवेश गर्छन् ।

    चालु अंग्रेजी वर्षको सेप्टेम्बर २५ तारिखसम्म बेलहिया नाका हँुदै ५८ देशका ६३ हजार ७ सय ९३ जना नेपाल प्रवेश गरेका छन् । अध्यागन कार्यालय बेलहियाका अनुसार २०२५ को अगस्त महिनासम्ममा पनि श्रीलंकाली पर्यटक नै बढी देखिएका छन् ।

    तथ्यांक अनुसार श्रीलंकाका १९ हजार ८ सय ३५ जना, थाइल्याण्डका १२ हजार ३ सय ४५ जना, म्यानमारका ९ हजार २ सय ७८ जना, भियतनामबाट ४ हजार १ सय ८८ र दक्षिण कोरियाबाट २ हजार २४ जना पर्यटक नेपाल भित्रिएका छन् ।