२०८२, आश्विन ११ गते

Sep 27 2025 | २०८२, आश्विन ११ गते

सभ्य एवं सुरक्षित तरिकाले चाडपर्व मनाउन रुपन्देही प्रहरीको अनुरोध

शनिवार , आश्विन ११, २०८२

  • 742
    Shares
  • 742
    Shares
  • भैरहवा, ११ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सावधानी अपनाई सभ्य एवं सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको छ । रुपन्देही प्रहरीले सार्वजनिक सूचना जारी गरी चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरुबाट बच्न सभ्य एवं सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गरेको हो ।

    प्रहरीले घर, कोठा छोडेर कही जानपर्दा झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी समेत गराउन, आफ्नो घर कोठामा बस्ने व्यक्ति वा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न आग्रह गरेको छ ।

    त्यस्तै बहुमूल्य गरगहना लगाएर कुनै मेला, पर्व तथा भिडभाडमा नजान र जानै परेमा चनाखो रहन, भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा त्यसउपर ख्याल पु¥याउन, यात्राको क्रममा कुनै अपरिचित मानिसहरुसँग धेरै घुलमिल भइ व्यक्तिगत गोपनीयता नखोल्न र उनीहरुले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान प्रहरीको आग्रह छ ।

    ‘सुन तथा डलर साट्ने नाममा तपाईलाई झुक्याउन सक्छन् । कुनै पनि कुराको लोभमा नपरौं र शंका लागेमा तत्काल प्रहरीलाई खबर गरौं, ’सूचनामा भनिएको छ ।

    त्यसै गरी आफ्ना व्यक्तिगत क्रियाकलाप सामाजिक सञ्जालबाट प्रवाह नगरी सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    घर टोल सुरक्षाका लागि सबै मिली सीसीटिभी, सेक्युरिटी साईरन लगायत जडान गरी सुरक्षाका उपायहरु अपनाउन, चाडपर्वको नाममा कानूनद्वारा प्रतिबन्धित जुवा, तास नखेल्न र खेल्न नदिन, पटाका, भुईचम्पा, आतिसबाजी लगायतका बिष्फोटक पदार्थले मानवीय, भौतिक एवं वातावरणीय क्षति पुग्ने भएकोले यसको प्रयोग नगर्न, नशालु वा मादक पदार्थ सेवन गरी सवारी नचलाउन प्रहरीको आग्रह छ ।

    त्यस्तै विभिन्न चिठ्ठाहरुको नामबाट ठगी भइरहेकोले त्यस्ता व्यक्ति तथा संस्थाहरुबाट सजग रहन, कुनै पनि प्रकारको उश्रृङ्खल, अवाञ्छित तथा अपराधिक क्रियाकलाप नगर्न र अपराध नियन्त्रण तथा अपराधरहित समाजको निर्माणमा सदैव प्रहरीलाई सहयोग गर्न रुपन्देही प्रहरीले अनुरोध गरेको छ ।

    साथै सूचना, सहयोग र जानकारीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कन्ट्रोल रुमको नम्बर १००, ९८५७०९०६२२, ९८५७०४९३४२ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।