
शनिवार , आश्विन ११, २०८२
भैरहवा, ११ असोज । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले शुक्रबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, दीपावली, नेपाल सम्वत् तथा छठपर्र्वको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक पिताम्बर खनालले बताउनुभयो ।
संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत प्रत्येक वर्ष यो कार्यक्रम गरिदै आएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो । ‘विगतका वर्षहरुमा भव्य रुपमा कार्यक्रम गरेका थियौं । तर, अहिलेको अवस्थाका कारण सीमित उपस्थितिमा कार्यक्रम आयोजना गरेका छौं, ’उहाँले भन्नुभयो । संघले व्यवसायीको हकहितसँगै सामाजिक कार्यलाई पनि अघि बढाउँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरीराजमणि पौडेलले व्यवसायलाई निरन्तरता दिन र खातापातालाई व्यवस्थित रुपमा राख्न व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले चाडपर्वको समय भन्दै धेरै मदिरा सेवन गर्न नहुने बताउनुभयो । ‘अहिलेको समयमा सामान उधारो दिन सक्ने अवस्था पनि छैन । गोदाममा राखिएको सामानको पनि बीमा गर्नु आवश्यक देखिन्छ, ’उहाँले भन्नुभयो । उहाँले फलानो नेता यो होटलमा बसेको र फलानो पार्टीमा छ भन्दै होटल र व्यवसायिक प्रतिष्ठानमा तोडफोड तथा आगजनी गरिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
त्यस्तै मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक सल्लाहकार ठाकुर कुमार श्रेष्ठले महान चाडपर्वले सबैमा सकारात्मक सोच उत्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रको सुझाव लिएर नयाँ सरकारले आर्थिक क्षेत्रमा अघि बढाएका केही कार्यक्रमले उद्योगी–व्यवसायीमा आशाको किरण दिएको बताउनुभयो ।
संघका वरिष्ठ सल्लाहकार खिम बहादुर खत्रीले जेनजी आन्दोलनमा धनजनको ठूलो क्षति भएको बताउनुभयो । उहाँले चनाखो बन्नुपर्ने अवस्था रहेको भन्दै व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले होटल र मदिरा व्यवसायीबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउनुभयो ।
सागर डिष्ट्रिलरीद्वारा उत्पादित गभर्नर ह्वीस्कीको विक्रेता अल इन वान सप्लायर्सका प्रोप्राइटर हरिओम भुसालले सबैको विश्वासका कारण नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले गुणस्तरीय र उत्कृष्ट उत्पादन ल्याउने प्रयास अनुरुप बजारमा विक्रीवितरण सुरु भइसकेको बताउनुभयो ।
यति डिष्ट्रिलरी प्रा.लि.का रिजनल म्यानेजर प्रितम गिरीले नेपालबाट मदिरा निर्यातलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा आयातमुखी नभइ निर्यातमुखी अर्थतन्त्रका आवश्यकता रहेको औंल्याउनुभयो ।
जेजीआईका रिजनल म्यानेजर सुर्य कुँवरले व्यवसाय फलोस्, फुलोस् भन्दै शुभकामना दिनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका सल्लाहकार अर्जुन कुमार गिरीले चाडपर्वले सबै नेपालीमा खुसी ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको स्वागत, संस्थापक अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रायोजन सागर डिष्ट्रिलरी (गभर्नर ह्वीस्की)ले गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij