२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

भैरहवा दशैं सस्तो बजारमा ‘कुशलको कथा’

शुक्रवार , आश्विन १०, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १० असोज । यतिबेला रुपन्देहीको भैरहवास्थित कालिकापथमा चहलपहल बढेको छ । भैरहवा बजारको बीच भागमा अवस्थित कालिकापथमा  रहेको  सुविधायुक्त आकर्षक प्रदर्शनी कक्षमा दशैं सस्तो बजारले उपभोक्ता खुसी देखिन्छन् । 

    १८ वटा विक्री कक्षहरु सजिएर ग्राहकलाई स्वागत गरिरहेका हुन्छन् । त्यसै बजारभित्र एउटा विक्री कक्षमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित दशैं सस्तो बजारमा कुशल ब्राण्डको कथा भेटिन्छ । भैरहवामा रिया रक्षा फुड्सको व्यवसायिक यात्रा हो ‘कुशलको कथा’ । लगनशील र धैर्य भएर काम गरे कुशल उद्यमीका रुपमा स्थापित हुन् सकिन्छ भन्ने एउटा दरिलो उदाहरण हो कुशलको कथा ।

    भारतमा बुवाको निधन पश्चात किशोर उमेरमा मदन पाण्डे २०५७ सालमा भैरहवा आउनुभएको थियो  । गरीबीका कारण बाँच्नका लागि केही नगरी उपाय नै भएन । जेठो छोरा मदनको काँधमा आमा र भाइहरुलाई हेर्ने जिम्मेवारी आयो । हातमुख जोड्न दैनिक आम्दानीको लागि उहाँले सजिलो उपाय होटल–रेष्टुरेण्ट चलाउने देख्नुभयो । तिनै भाइहरु आमासहित मिलेर सानो होटल सञ्चालन गरे । तर, सोचे जस्तो भएन ।  ‘होटल छोडेर हाटबजार घुमेर सामान बेच्न लाग्यौं । २०६२ सालदेखि भुजा प्याकिङ गरेर बजार बजार घुम्न लाग्यांै ।  ५० भन्दा बढी उत्पादनहरु रहेका छन्, ’मदन पाण्डेले भन्नुभयो ।

    व्यापार मात्र गरिरहेका पाण्डे दाजुभाइले २०६६ सालमा घरेलु उद्योग खोल्नुभएको थियो  । खाजाका परिकारहरु भुजा, चिप्स, दालमोट, नमकिन आदि उत्पादन गर्न थाल्नुभयो । ‘हामीले एकैपटक गरेनौं, एकपछि अर्को आइटम थप्दै गयौं, ’मदनले भन्नुभयो । अहिले कुशल ब्राण्ड नेपालको सबै जिल्लाहरुमा पुगेको छ ।   

    ३ दाजुभाई मदन, उत्तम र मोहन पाण्डेका १३ जनाको संयुक्त परिवारको लगन, मेहनतको कथाले कोरेको परिणाम नै कुशल हो । परिवारमा छोरीहरु रिया रक्षाको नामबाट उद्योग दर्ता गरेर छोरा कुशलको नामबाट कुशल ब्राण्ड राखेका पाण्डे परिवारमा ७२ वर्षिय आमाले उद्योग–व्यवसायमा सहयोग गरेको देखिन्छ । साना–ठुला गरेर १३ जना परिवारका सदस्यहरु सबैले उद्योग–व्यवसायमा आ–आफ्नो भूमिका निर्वाह गर्छन् ।

    समाजमा एकै परिवारका भाइहरु नमिलेर एक–अर्काका दुश्मन बनेको समेत देखिने समाजमा मदन उत्तम मोहनको परिवार प्रेरणा बनेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा संचालित सस्तो बजार–२०८२ मा पनि परिवारका महिला उद्यमीको सक्रियता देखिन्छ ।

    WhatsApp Image 2025-09-26 at 2.07.09 PM.jpeg

    सस्तो बजारमा कुशल ब्राण्डका उत्पादनहरु १० देखि  ५० रुपैयाँसम्म छुटमा विक्रीवितरण भइरहेको रिया रक्षा उद्योगका सञ्चालककी छोरी रियाले बताउनुभयो । यो पाण्डे परिवार मेहनतले उठेको परिवार हो र उनका उत्पादन कुशल ब्राण्डले देशभर भैरहवाको परिचय दिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो ।