
शुक्रवार , आश्विन १०, २०८२
भैरहवा, १० असोज । ‘सकारात्मक सन्देश प्रवाह गर्नु नै अहिलेको आवश्यकता भएको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले हरेक नागरिक जिम्मेवार र इमान्दार भइ समाजमा रहेको नकारात्मकता हटाउनुपर्ने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको वर्तमान परिवेश, चुनौती र समाधान विषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राज्य कहिल्यै पनि कमजोर नहुने बताउनुभयो । उहाँले समय आएपछि राज्य र सुरक्षा निकायले आफ्नो पोजिसन लिने बताउनुभयो । ‘अहिले सुरक्षा निकायका बारेमा धेरै टिकाटिप्पणी गरिरहनु जरुरी छैन, ’उहाँले भन्नुभयो ।
नगरप्रमुख पाण्डेयले राष्ट्रियताको भावनाबाट ओतप्रोत भएर देशलाई कसरी बचाउने र समाजलाई कसरी सरलीकरण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । खरानीबाट माथि उठेर देश र समाजलाई सम्हाल्नेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले संविधानको संरक्षणका लागि सबै अघि बढ्न जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले जेनजी पुस्ताले जायज माग उठाएको बताउनुभयो । उपप्रमुख अर्यालले कारागारबाट कैदीहरु बाहिर आएको र पछिल्लो समय चोरी–डकैतीका घटना पनि भइरहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले गिरेको मनोबललाई उकास्नुपर्ने धारणा राख्नुभयो । उहाँले सबैले हातेमालो गरेर काम गर्नुपर्ने बताउनुभयो ।
इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले निजी क्षेत्रलाई बाहिर राखेर राज्य सञ्चालन हुन नसक्ने बताउनुभयो । उहाँले प्रहरी–प्रशासनलाई गाली गर्र्दै थप मनोबल गिराउने काम गर्न नहुने बताउनुभयो । सुरक्षा निकायसँग सम्बन्धित जवाफ नीतिगत तहबाटै खोजिनुपर्ने उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले सबैको अनुहारमा अहिले निराशा रहेको र त्यो निराशालाई आशामा बदल्नुपर्ने बताउनुभयो । उहाँले जेनजी समूहले संविधान र लोकतन्त्रको विकल्प नखोजेको तर, संविधान संशोधन भने खोजेको बताउनुभयो । उहाँले अब सुध्रिनु र सच्चिनुको विकल्प नरहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सञ्चार क्षेत्रबाट पनि सकारात्मक सन्देश सम्प्रेषण गर्न जरुरी रहेकोमा जोड दिनुभयो । निजी क्षेत्रले क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणका लागि सहयोग गरिरहको उहाँको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र आशावादी बन्नुपर्ने बताउनुभयो । उच्च अदातल बार एशोसियशन बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनीले सबै आ–आफनो पेशागत हितमा नलाग्दा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँले देशमा राजनीतिक स्थायीत्व कायम गर्न जरुरी रहेको बताउनुभयो ।
नेपाल ईन्जिनियर्स एशोसियशन लुम्बिनी प्रदेशका सभापति ई.महेश्वर लम्सालले समाजमा नकारात्मकता हटाउन नैतिक शिक्षा अनिवार्य रहेको बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले आन्दोलनका नाममा अराजक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले उद्योगीको लगानीको सुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले अर्थतन्त्र उकास्न सक्ने मुख्य क्षेत्र पर्यटन भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भवानी पाण्डेले भदौ २३ र २४ गतेको घटनाले पाठ सिकाएको बताउनुभयो । उहाँले सबै क्षेत्रले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार श्यामलाल पोखरेलले जेनजीका नाममा स्वार्थ समूह हाबी भएको बताउनुभयो । उहाँले मुलुकमा जटिल अवस्था सिर्जना भएको बताउनुभयो । रुपन्देही व्यापार संघका महासचिव फर्शुराम पन्तले आन्दोलनमा सुरक्षा दिने सुरक्षा निकाय मौन बस्नु बिडम्बना भएको बताउनुभयो ।
बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले प्रहरीको मात्र आशा गरेर नभइ आफू पनि सुरक्षित र सजग हुनुपर्ने बताउनुभयो । तिलोत्तमा खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले मिडिया र सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जि.सी.ले सुरक्षा निकाय मजबुत नभएसम्म राज्य बलियो हुन नसक्ने बताउनुभयो । देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङले मुलुकको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो । उहाँले हरेक नागरिक इमान्दार र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
पत्रकार प्रकाश डुम्रेले नेतासँग फोटो खिचिएको आधारमा व्यवसायिक प्रतिष्ठानमा आक्रमण भएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको धन्यवाद ज्ञापन तथा सचिव सि.पी. खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij