
सोमवार , बैशाख ६, २०७८
भैरहवा, ६ वैशाख ।
बृहत्तर लुम्बिनी क्षेत्रका राष्ट्रिय महत्वका दस्तावेजका स्थलगत निरीक्षण तथा अध्ययनको लागि संसदीय समिति लुम्बिनी क्षेत्रमा आइपुगेको छ । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम क्षेत्रमा रहेका विभिन्न अभिलेख तथा दस्तावेजहरुको अध्ययन तथा निरीक्षण गरिरहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
समितिका सभापति रामनारायण विडारीको नेतृत्वमा सांसदहरु गोपाल भट्टराई, तुलसा कुमारी दाहाल र नैनकला ओझा तथा उपसचिव कमला शाक्यसहितको संसदीय टोली लुम्बिनी क्षेत्रमा आएको हो ।
समितिले अशोक स्तम्भमा रहेको अभिलेख तथा अन्य दस्तावेजहरुको अध्ययन गरिरहेको छ । समितिले विकास कोषका पदाधिकारीसंग समेत छलफल तथा अन्तरक्रिया गरेको छ ।
त्यस्तै समितिले प्रारम्भिक रुपमा लुम्बिनी विकास कोषको पुस्तकालय र संग्रहालयको स्तरोन्नति र प्रभावकारी व्यवस्थापन जरुरी रहेको निष्कर्ष निकालेको समितिका सभापति बिडारीले बताए । उनले भने, ‘पुस्तकालयको स्तरोन्नति र कोषको संग्रहालयको प्रभावकारी व्यवस्थापन आवश्यक देखियो । त्यसै गरी विद्यमान संरचनाको रेखदेख तथा गुरुयोजना अनुसारको काम समयमै सम्पन्न गर्न चालु पूँजीको अभाव देखियो । समितिको टोली यति बेला तिलौराकोट क्षेत्रमा रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij