२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

कार्यपालिका बैठक ‘लाइभ’ गर्नुपर्ने नगर प्रवक्ताको माग

बिहिवार , आश्विन ९, २०८२

  • 682
    Shares
  • 682
    Shares
  • भैरहवा, ९ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रशारण (लाईभ) हुनुपर्ने माग राख्नुभएको छ । लाईभ नगरिएसम्म आफू बैठकमा नजाने उहाँले घोषणा गर्नुभएको छ ।

    आफूले यसबारे पटकपटक आवाज उठाए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका यादवले २०८२ असोज ८ गते बुधबारको कार्यपालिका बैठकमा आफू उपस्थित नभएको जानकारी दिनुभयो । ‘मैले पटकपटक माग गरिरहेको विषय के हो भने नगर कार्यपालिका बैठकको लाइभ हुनुपर्छ । जनताले नगरपालिकाको बैठकमा नगरको विकासका लागि के–के छलफल भइरहेको छ भन्ने कुरा जान्न पाउनुपर्छ । लाईभ नभएसम्म म नगर कार्यपालिकाको बैठकमा उपस्थित नहुने घोषणा गर्दछु,’ उहाँले भन्नुभयो ।

    काठमाडौं महानगरपालिकासहित देशका विभिन्न स्थानीय तहहरुको बैठक लाईभ हुन्छ तर, सिद्धार्थनगर नगरपालिकामा किन नहुने भन्दै उहाँले प्रश्न गर्नुभयो । नगरको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

    स्थानीय राजन शुक्लाले वडाअध्यक्षले उठाउनुभएको माग जायज रहेको बताउनुभयो । ३३ वर्षिय यादव दोस्रोपटक वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो । सिद्धार्थनगर नगरपालिका (भैरहवा) बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो । यो नगरपालिकामा १३ वटा वडाहरु छन् ।