
बिहिवार , आश्विन ९, २०८२
काठमाडौं, ९ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट अलग्गीएर बनेका दलहरुका केन्द्रीय नेताहरुले पार्टी एकताको लागि पार्टी नेतृत्वलाई संयुक्त अपील गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय नेताहरुले संयुक्त अपील जारी गर्दै समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ वैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्न नेतृत्वसँग माग गरेका छन् ।
अपीलमा भनिएको छ–‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्ने समाजवादी विचारका हामी युवा प्रतिनिधिहरु जेन–जी आन्दोलनपश्चात विकसित घटनाक्रमका सन्दर्भमा छलफल गर्ने क्रममा एउटा साझा निष्कर्षमा पुगेका छौँ । समान विचार, सिद्वान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ वैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्नु उपयुक्त हुने हाम्रो ठहर रहेको छ । विगतमा भएका कमीकमजारीलाई सच्याउँदै समाजवादी आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सम्बद्ध दलको नेतृत्वसँग हामी जोडदार माग गर्दछौँ ।’
त्यस्तै अपीलमार्फत मुलुकको आवश्यकता, आन्दोलनको मर्म, पार्टीका आम कार्यकर्ता र पार्टी सदस्यको भावनालाई नेतृत्वले गम्भीरताका साथ आत्मसात् गर्ने अपेक्षा गरेको बताइएको छ ।
संयुक्त अपीलमा जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख पूर्ण बस्नेत र केन्द्रीय सदस्य खेमराज खड्का लोसपा नेपालबाट केन्द्रीय सचिव रामेश्वर यादव र केन्द्रीय सदस्य सुजन यादव जसपाबाट केन्द्रीय सदस्यहरु प्रेमनारायण थापा, अर्जुन लम्साल र ज्ञानु आचार्य नागरिक उन्मुक्ति पार्टीबाट केन्द्रीय सदस्यहरु दीपबहादुर तामाङ, गीता चौधरी र दोर्जे तामाङ, नेसपा (नयाँ शक्ति) बाट विष्णु प्रसाद पौडेल र प्रकाश भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij