२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

जेन–जी पुस्ताले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन गरेका थिएनन्

बिहिवार , आश्विन ९, २०८२

  • 556
    Shares
  • 556
    Shares
  • काठमाडौं, ९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी र विदेशी शक्तिहरुले हाइज्याक गरेको गम्भीर आरोप लगाउनुभएको छ । 

    बिहीवार काठमाडौं आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेन–जी पुस्ताले संविधान र व्यवस्थाको रक्षाका लागि आन्दोलन नगरेको भएपनि देशी–विदेशी शक्तिहरुले हस्तक्षेप गरेको आरोप लगाउनुभएको हो ।

    उहाँले युवाहरुले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि आन्दोलन गरिएको भएपनि वर्तमान व्यवस्थामा भ्रष्टाचार र कुशासनको अन्त्य गर्न असम्भव रहेको बताउनु भयो । के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ ? उहाँको प्रश्न छ ।

    उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा गरेको अभिव्यक्तिले पनि युवा आन्दोलन हाइज्याक भएको प्रमाणित भएको टिप्पणी गर्नुभयो । उहाँले अहिलेकै संवैधानिक व्यवस्था, शासकीय प्रणाली र निर्वाचन प्रणामीमाफर्त अघि बढे जेनजी आन्दोलनको कुनै अर्थ नरहने जिकिर गर्नुभयो ।

    भ्रष्टाचारको मूल जडको रुपमा रहेको संविधान र व्यवस्थालाई यथावत राखेर जनतालाई धोका दिन थालिएको उहाँको टिप्पणी छ । उहाँले संवैधानिक अंगमा भइरहेको राजनीतिक नियुत्ति भ्रष्टाचारको मुख्य कारण भएको पनि उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘जेनजी युवाहरु यथास्थितिको निरन्तरता र संविधानको रक्षाका लागि आन्दोलन गरेका होइनन् । उनीहरुको कुनै विशेष एजेण्डा  नभएपनि भ्रष्टाचारको अन्त्य भनेका थिए नि । के यही व्यवस्थामा रहेर मुलुकमा भ्रष्टाचार र कुशासन अन्त्य गर्न सकिन्छ त ?

    मुलुकका संवैधानिक अंगलाई याथिस्थितमा राखेर आन्दोलनलाई हाईज्याक गर्ने काम गर्यो । देशी, विदेशी शक्तिहरुको सहयोगमा युवाहरुको आन्दोलनलाई हाइज्याक गर्ने काम गरियो । माओवादी अध्यक्ष प्रचण्डले व्यवस्था जोगाएँ भन्नुभयो । यो नै आन्दोलन हाइज्याकको प्रमाण हो ।

    अहिलेकै राज्य संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र संवैधानिक आयोग राखेर गर्ने भनिएको चुनावको कुनै अर्थ छैन । भ्रष्टाचारको मूल कारणलाई यथावत राखेर नेपाली जनतालाई धोका दिने षड्यन्त्र भएको छ ।

    यति धेरैले सहादत र ठूलो धनको क्षति भएर जुन ढोका खुलेको थियो । त्यसलाई बन्द गर्ने जजसले काम गरेका छन् । उनीहरुले जनताको कठ्घरामा उभिनुपर्नेछ । यही व्यवस्थामा निर्वाचन गरिए आन्दोलन अधुरो ठहरिनेछ । र त्यहीबाट फेरी सुरु हुनेछ ।

    यही निर्वाचन प्रणालीबाट चुनाव हुँदा पुरानै पार्टी र केही नयाँ आउलान् । तर कसैले पनि सरकार बनाउनेगरी बहुमत बनाउन सक्दैनन् । र ति लुटेरा पार्टीहरु र नौटंकीहरुले अप्राकृतिक गठबन्धन बनाएर अराजकता गर्ने बाहेक के हुनसक्छ ? अहिले बालेनले पार्टी खोल्छ र ठूलो पार्टी हुन्छ भनेर हल्ला गर्छन् ।

    तर उनले खोलेको पार्टी काँग्रेस र एमालेसँगै गठबन्धन गर्नुपर्छ । त्यसको के काम ? अहिले संवैधानिक अंगहरुमा भइरहेको राजनीतिक नियुक्तिले गर्दा मुलुकमा भ्रष्टाचार भएको छ ।

    यो व्यवस्थालाई यथावत कायम राख्ने हो भने भोलि निर्वाचित भएर आउने पार्टीले आफ्नो कार्यकर्तालाई नियुक्ति गर्दैन भन्ने ग्यारेन्टी कसले लिन्छ । त्यसकारण युवाहरुको आन्दोलन हाइज्याक भयो । यथास्थितिलाई कायम राखेर निर्वाचन भएको खण्डमा देशमा थप खराब स्थिति आउनसक्छ ।’

    उहाँले मुलुकलाई निकास दिनको लागि सबै प्रजातन्त्रवादी र राजावादीहरु एकजुट हुन आग्रह पनि गर्नुभयो ।