२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

रुपन्देहीमा जेन–जी आन्दोलनबाट प्रभावित संरचनाको अनुगमन

बिहिवार , आश्विन ९, २०८२

  • 679
    Shares
  • 679
    Shares
  • भैरहवा, ९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गर्नुभएको छ ।

    भदौ २३ र २४ गते भएको आन्दोलनमा आगजनीका कारण सेवा प्रवाह प्रभावित भएपछि मुख्यमन्त्री आचार्यले प्रभावित कार्यालयको अवस्था बुझ्न अनुगमनलाई निरन्तरता दिनुभएको हो । यसअघि अर्घाखाँची, प्यूठान, दाङ र बाँके जिल्लामा अनुगमन गरिसक्नुभएका उहाँले बिहीबार भैरहवा र बुटवलका विभिन्न स्थानको निरीक्षण गर्नुभएको हो ।

    अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले घटनाको न्यायीक छानबीन गरेर घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गर्नुभयो । ‘भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबीन हुनुपर्छ । दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्छ’उहाँले भन्नुभयो–‘आन्दोलनको नाममा सरकारी, सार्वजनिक र निजी सम्पत्तिलाई ध्वस्त पार्ने काम भएको छ । यस्तो अराजक गतिविधिको विरोध गर्दछौं ।’
    मुख्यमन्त्री आचार्यका अनुसार सेवा प्रवाहलाई पुरानै अवस्थामा फर्काउन कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन प्रदेश सरकारले पहल थालेको छ ।

    WhatsApp Image 2025-09-25 at 3.13.08 PM.jpeg

    ‘आगजनी, तोडफोड र लुटपाटका कारण सेवाग्राही र कर्मचारीको मनोबल घटेको छ । त्यसलाई पुनः उठाउन सरकारले अनुगमनलाई निरन्तरता दिएको हो’उहाँले भन्नुभयो–‘अत्यावश्यक सेवा दिन अस्थायी रुपमा टेन्ट टाँगेर भए पनि काम अघि बढाइएको छ । कतिपय स्थानीय तह र कार्यालयले सेवा सुरु गरिसकेका छन् ।’

    WhatsApp Image 2025-09-25 at 3.13.07 PM.jpeg

    रुपन्देहीमा आन्तरिक राजस्व कार्यालय भैरहवा, सिद्धार्थनगर नगरपालिका, नापी कार्यालय, नगरप्रमुख र उपप्रमुखको घर, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको घर, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लको द्धर, जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवा, भैरहवा भन्सार कार्यालय, मणिग्रामस्थित पूर्व गृहमन्त्री बालकृष्ण खाणको घर, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, पूर्वमुख्यमन्त्री लिला गिरीको घर,, नेकपा एमाले प्रदेश पार्टी कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, उच्च अदालत बुटवल, राजस्व अनुसन्धान कार्यालय, प्रदेश प्रमुखको कार्यलय, प्रदेश लोकसेवा आयोग, बेलबासस्थित नापी कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतमा आगजनी र तोडफोड भएको थियो ।

    WhatsApp Image 2025-09-25 at 3.13.09 PM.jpeg

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार जेन–जी आन्दोलनका क्रममा प्रदेशभर १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । त्यस्तै ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी कार्यालयमा पनि तोडफोड तथा आगजनी भएको उल्लेख छ ।