२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

तुइन खोलामा पहिरो हटाउन आवश्यक भन्दा बढी उपकरण परिचालन गरेका छौँ : मन्त्री घिसिङ

बिहिवार , आश्विन ९, २०८२

  • 562
    Shares
  • 562
    Shares
  • काठमाडौं, ९ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठूलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताउनुभएको छ ।

    पटकपटक त्यहाँ पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठूलो सुख्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उहाँले बताउनु भयो ।

    उहाँकाअनुसार पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था छैन, ठूलो जोखिम छ । आजदेखि पानी परेन भने राति पनि काम गरेर भोलि बिहानसम्ममा सडक निर्वाध रुपमा सुचारु गरिने उहाँको भनाइ छ ।

    घिसिङकाअनुसार पहिरोले सम्पूर्ण यातायात अवरुद्ध भने गरेको छैन । वैकल्पिक रुपमा कान्ति पथ र त्रिभूवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको छ भने विपी राजमार्ग र कोदारी राजमार्ग निर्वाध चलिरहेका छन् ।

    उहाँकाअनुसार एक डेढ महिनादेखि रोकिएका धेरै मालबाहक कन्टेनरहरु सीमा नाकाबाट पास भइसकेका छन्, अहिले निर्बाध रुपमा सञ्चालन भइरहेको छ ।

    मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । सरकारले मुलिङ–नारायणगढ सडकखण्डलाई प्राथमिकतामा राखेर यथाशीघ्र यातायात सहज बनाउने तयारी अघि बढाएको उहाँको भनाई छ । 

    मन्त्री घिसिङले भन्नुभयो– ‘बाढीपहिरोको विपद् आएको छ । मुख्य राजमार्ग मुग्लिङदेखि नारायणगढ रुटमा धेरै ठूलो पहिरो गएको छ । हामीले पहिरो पन्छाएर पनि खुलाएका थियौं । दोस्रो पटक त्यो भन्दा पनि ठूलो पहिरो गएको छ ।

    सुख्खा पहिरो जुन गएको छ, त्यसले गर्दा ठूलो समस्या आएको छ । हामीले उपकारणहरु चाहिने भन्दा बढी प्रयोग गरेकै छौं । त्यो भन्दा धेरै प्रयोग गर्न सकिँदैन । पहिरो खसिरहने राति काम गर्न नसकिने, एकदमै ठूलो रिक्स त्यहाँ भएको छ । त्यसलाई हामीले दिनमा मात्रै काम गर्नुपर्ने स्थीति छ । आजदेखि हामीले पानी परेन भने राति पनि काम गर्नेछौं ।

    आज राति, भोली बिहानसम्ममा क्लियर हुनसक्छ । पहिरोका कारण सबै ब्लक भएको छैन । हामीले कान्तीपथ र त्रिभूवन राजमार्ग सुधार गरेर बाटो खुलाएका छौं । विपी राजमार्ग चलिरहेको छ । कुनै समस्या छैन ।

    दिन रात चलिरहेको छ । कोदारी राजमार्ग पनि खुलेको छ । अहिले एक डेढ महीनादेखि हाम्रो धेरै मालबाहक कन्टेनरहरु बोर्डरमा बसेका थिए । ती सबै पास भइसकेको छ । अहिले निर्वाध रुपमा चलेको छ । मुख्य समस्या भनेको अहिले मुग्लिङ–नारायणगढको समस्या हो । तुईन खोलामा ठूलै पहिरो गएको छ ।’

    मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । कहिले काहीँ समस्या आउनसक्छ तर समस्या आएपनि तत्काल खुलाउने हिसावले अघि बढेको उहाँले बताउनु भयो ।