२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन

बिहिवार , आश्विन ९, २०८२

  • 733
    Shares
  • 733
    Shares
  • काठमाडौं, ९ असोज । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

    भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीवार आयोगमा निवेदन दिएको जानकारी दिनुभयो । उहाँकाअनुसार सो पार्टीको दर्ता नम्बर ४७७ रहेको छ । दल दर्ताको प्रक्रिया पूरा हुन केही समय लाग्ने उहाँको भनाई छ ।

    नागरिकमा आशा र विश्वास सिर्जना गरी नागरिक र मुलुकका बीचमा घनिष्ट सम्बन्ध स्थापित गर्ने उद्देश्यले पार्टी स्थापना गरेको उहाँले बताउनु भयो । देशभक्ति, नागरिकतन्त्र एवं प्रगतिशिलताको सिद्धान्तमा विश्वास भएका नागरिकहरु भेला भएर एक मूलधारको राजनितिक दल स्थापना गरिएको उहाँको भनाई छ । 

    उहाँले भन्नुभयो, ‘हामी निर्वाचन आयोगमा आएर नेपाल नागरिक पार्टी दर्ता गर्नको लागी निवेदन दिएका छौँ । हाम्रो दर्ता नम्बर ४७७ रहेको छ । यसको पुरै प्रक्रिया पूरा हुन केही समय लाग्छ । हामी निरन्तर प्रक्रियामा रहन्छौँ ।’ 

    राजनीति सिद्धान्तनिष्ट हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले राजनीतिका नाममा भ्रष्टाचार गर्ने छुट कसैले पाउन नहुने बताउनु भयो । २१ औँ शताब्दीमा गरिबी सह्य हुन नसक्ने पनि उहाँको भनाई छ । राजनीति संविधानवादको सीमानाभित्र बाँधिनुपर्ने आफूहरुको मान्यता रहेको उहाँले बताउनु भयो ।