
बिहिवार , आश्विन ९, २०८२
भैरहवा, ९ असोज । जेनजी आन्दोलनका नाममा रुपन्देहीको दक्षिणी क्षेत्र अन्तर्गत मर्चवारी गाउँपालिकाको कार्यालयमा तोडफोड तथा आगजनीमा १७ लाख बढी मूल्य बराबरको क्षति भएको छ । गत भदौ २४गते राती मोटरसाईकलमा आएका १५–२० जनाको समूहले गरेको तोडफोड तथा आगजनीमा विभिन्न सामानहरु जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले जानकारी दिनुभयो ।
अध्यक्ष बरईका अनुसार तोडफोड तथा आगजनीबाट मनिटर ११ थान, सीपीयू ४ थान, प्रिन्टर १० थान, बोर्ड ५ थान, एसी १ थान, रजिष्टर २६ थान, कुर्सी १७ थान, पंखा ४ थान, कुलर २ थान, हिटर २ थान, टंकी, मोटरसाईकल, साइकल, इन्भर्टर, जेनरेटर, टेबुल, पानी जार र सोफा १/१ थान, ब्यालङ्केट २ थान, कार्टेज १० थान, सिसिटीभी क्यामरा ४ थान, कृषि विषादी, पशु सम्बन्धी औषधीलगायतका सामानहरु नष्ट भएको छ ।
जेनजीको नाममा प्रतिशोधको भावनाले गाउँपालिकाको कार्यालयमा आक्रमण गरिएको अध्यक्ष बरईले बताउनुभयो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
क्षतिग्रस्त मर्चवारी गाउँपालिका कार्यालयको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले निरीक्षण गर्नुभएको छ । निरीक्षण गरेपछि प्रमुख जिल्ला अधिकारी पाण्डेले गाउँपालिकाको कार्यालयमा क्षति पुर्याउने व्यक्तिहरुलाई कडा कारवाही गरिने बताउनुभयो । उक्त घटनामा संलग्न सबैलाई पक्राउ गरी कडा कारवाही गरिने उहाँको भनाइ छ । ‘सार्वजनिक सम्पत्तिको क्षति भनेको सार्वजनिक अपराध हो । अपराध गर्नेले सजाय पाउँछन्, ’उहाँले भन्नुभयो । सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पु¥याउने व्यक्तिहरु कारवाहीको भागिदार हुने डा.पाण्डेले बताउनुभयो ।
स्थानीय अंगद यादवले सरकारी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरुबाट नै असुलउपर गर्नुपर्ने माग गर्नुभयो ।
हाल मर्चवारी गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालनमा छ । गाउँपालिकामा ७ वटा वडाहरु छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij