
मंगलवार , आश्विन ७, २०८२
काठमाडौं, ७ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत चेङ्ग सोङ्गले मंगलबारका छुट्टाछुटै शिष्टाचार भेट गर्नुभएको छ । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुलसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै भारतीय राजदुत श्रीवास्तवले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको उल्लेख गर्नुभयो । उहाँले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यक्रमहरुमा तीव्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको बताउनुभयो ।
उक्त अवसरमा नेपाल–भारतबीचको व्यापार सहजीकरणका लागि दुवै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले बताउनुभयो ।
त्यस्तै चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्नुहुँदै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताउनुभयो ।
अर्थमन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुतलाई अनुरोध गर्नुभयो ।
राजदुत सोङ्गलले चीनले नेपाली जनताको छनौटलाई सधै सम्मान गर्दै आएको उल्लेख गर्नुहुँदै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तरक्रिया गरिने जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij