
मंगलवार , आश्विन ७, २०८२
बुटवल, ७ असोज । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीले आगजनी गरेको रुपन्देहीको बुटवलस्थित ड्रिम इन्टरनेशनल होटलले अनाथ तथा अपांगता भएका व्यक्तिहरुलाई खाना खुवाउँदै मंगलबारदेखि पुनः सेवा सञ्चालनमा ल्याएको छ । होटलका सञ्चालक पर्यटन व्यवसायी तथा समाजसेवी गोपाल रानाले बुटवलको देवीनगरस्थित अपाङ्ग आश्रमका आश्रितहरुलाई होटलमा ल्याएर खाना खुवाउँदै सेवा पुनः सञ्चालन गरिएको घोषणा गर्नुभयो ।
यो होटलमा ६० जना बढी युवाहरुले रोजगारी पाएका छन् । तोडफोड तथा आगजनी गरिएको होटलमा सरसफाई तथा मर्मतको काम जारी रहेको बताउँदै सञ्चालक रानाले क्षतिको बारेमा सम्पूर्ण विवरण संकलन गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।
आन्दोलनका क्रममा घुसपैठ गर्दै केही अराजक तत्वहरुले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम निन्दनीय भएको बताउँदै उहाँले दोषीलाई राज्यले कानूनी कारवाही गर्ने विश्वास व्यक्त गर्नुभयो । जेनजी आन्दोलन र उनीहरुको मागप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहेको समेत उहाँले उल्लेख बताउनुभयो । यद्यपी आन्दोलनका क्रममा केही अराजक तत्वहरुले आफूलाई कुनै अमुक नेताको नामसँग जोडेर गलत अफवाह फैलाइएकोप्रति दुःख व्यक्त गर्नुभयो । हालसम्म कुनै सार्वजनिक लाभको पदमा नरही नितान्त व्यवसायिक क्षेत्रमा क्रियाशील रहेको अवस्थामा आफूबारे गलत अफवाह फैलाइएको उहाँले गुनासो गर्नुभयो ।
वि.सं. २०४८ सालदेखि करिब २ वर्ष जागिरे जीवन, एक दशक बढी निर्माण व्यवसायी र वि.सं. २०६१ सालदेखि हालसम्म निरन्तर पर्यटन व्यवसायीको रुपमा काम गर्दै आउनुभएका रानाले बुटवल–९ कालिकापथमा तारे होटल सरहको सेवासुविधासहित ड्रिम इन्टरनेशनल होटल सञ्चालनमा ल्याउनुभएको थियो ।
आफ्नो र ससुरालीको समेत लगानीसँगै होटल सञ्चालनका लागि अहिले पनि करोडौं रकम ऋण रहेको बताउँदै उहाँले कुनै नेताको लगानी नभएको र नितान्त आफ्नो र परिवारको मेहनतले व्यवसाय गरिरहेको अवस्थामा अराजक तत्वहरुले गलत अफवाह फैलाएको गुनासो गर्नुभयो ।
यस क्षेत्रका विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत जोडिँदै आउनुभएका रानाले तिलोत्तमामा सञ्चालन गर्दै आएको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा समेत आन्दोलनकारीहरुले तोडफोड, लुटपाट तथा आगजनी गरी पूर्ण क्षति पुर्याएका छन् । एकसय जना युवाहरुलाई रोजगार दिँदै आएको ड्रिमल्याण्ड होटलमा पुनः निर्माणको काम जारी रहेको बताउँदै सञ्चालक रानाले दशैलगत्तै नियमित सेवा सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो ।
आफ्ना दुवै होटलमा आगजनी तथा तोेडफोड गरेर करोडौंको क्षति पुगे पनि त्यहाँ कार्यरत कर्मचारीहरुलाई बेरोजगार नबनाउने सञ्चालक रानाले प्रतिवद्धता गर्नुभयो । ‘वर्षौदेखिको मेहनत र पसिना खरानीमा परिणत हुँदा म मात्रै होइन, मेरा कर्मचारीहरु पनि उत्तिकै दुःखित हुनुहुन्छ । यस्तो अवस्थामा पनि उहाँहरुले मलाई साथ नै दिइरहनुभएको छ ।’–सञ्चालक रानाले भन्नुभयो, ‘होटल खरानी भए पनि मैले उहाहरुको साथ छोड्ने छैन । यहाँ कार्यरत कुनै पनि कर्मचारीलाई बेरोजगार बनाउने छैन, यो मैले प्रतिवद्धता गरेको छु ।’
तोडफोडबाट भएको क्षतिबारे प्राविधिक परीक्षणको काम जारी रहेको बताउँदै उहाँले एकिन विवरण निकाल्ने बताउनुभयो । सञ्चालक रानाले रुपन्देहीसहित देशभरका सार्वजनिक सम्पत्ति, व्यक्तिको निजी सम्पत्ति तथा व्यवसायिक प्रतिष्ठानहरुमा गरिएको लुटपाट, आगजनी र तोडफोड गर्ने व्यक्तिहरुलाई राज्यले कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । निजी क्षेत्रमा भएको आक्रमणले लगानीकर्ताहरु हतोत्साहित भएको बताउँदै राज्यले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा लगानीबो वातावरण बन्दा थप बढी आर्थिक संकट, बेरोजगारी र अराजकता फैलिनेप्रति राज्यले सचेत हुनुपर्ने उहाँको धारणा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij