
मंगलवार , आश्विन ७, २०८२
काठमाडौं, ७ असोज । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ ।
मंगलवार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँले पदभार ग्रहण गर्दै कानून निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गर्नुभयो ।
उहाँले जेनजी पुस्ताको मागअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि कानूनहरुमा आवश्यक संशोधन गरिने बताउनु भयो । उहाँले समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कानून निर्माण र सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जेनजी पुस्ताले उठाएको मुख्य विषयवस्तु नै सुशासन, भ्रष्टाचारमुक्त राष्ट्र र मुलुकमै काम गर्ने अवसर हो । अहिले जुनजुन तहबाट प्रश्न उठेका छन् ति सबै विषयहरुलाई क्रमशः सम्बोधन गर्दै लैजानुपर्ने विषयवस्तुहरु हुन् ।
हामी सबैले प्रष्ट रुपमा बुझ्नुपर्छ यो चुनावी सरकार नै हो । हामीले जसरी पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था छ । त्यसका लागि आवश्यक पर्ने केही कानूनी विषयहरु छन् ।
ति विषयहरुमा केही संशोधन गर्नुपर्ने अवस्था छ । त्यसकारण निर्वाचन गराउनको लागि अध्यादेशमार्फत भएपनि आवश्यक पर्ने कानूनहरु संशोधन गर्छौं । पहिलो निर्णयका रुपमा कानून निर्माण गर्ने प्रक्रिया, शैली, भाषाको सुधार गरेर नागरिकले स्पष्टसँग बुझ्ने बनाउने पहिलो निर्णय पनि गरेका छौं ।’
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij