२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

कर्जा पुनर्संरचनादेखि कम ब्याजमा कर्जा सुविधा दिन्छौं : कार्यकारी निर्देशक खरेल

मंगलवार , आश्विन ७, २०८२

  • 328
    Shares
  • 328
    Shares
  • काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरु प्रदान गर्ने बताउनुभएको छ ।

    मंगलवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जेनजी प्रदर्शपछि खासगरी निजी क्षेत्रको मनोबल कमजोर बनेकाले त्यसलाई उकास्न कर्जा पुनर्संरचना÷पुनर्तालिकिकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह, कम ब्याजमा ऋण उपलब्ध गराउने काम गरिने बताउनु भयो ।

    उहाँले,  विगतका क्षतिपछि कसरी पुननिर्माणमा काम गर्ने भन्ने प्रश्न उठ्ने गरेको भएपनि अहिले आजकै दिनमा खर्च गर्न सकिने ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको बताउनु भयो । अर्कोतर्फ, लगानीका लागि ब्याजदर पनि सहज अवस्थामा रहेको उहाँको भनाइ छ । यसले भौतिक संरचनाको पुननिर्माण सहज हुने खरेलको दाबी छ ।

    खरेलले भन्नुभयो, ‘अबको मुख्य विषय भनेको निजी क्षेत्रको मनोबल कसरी माथि उकास्न सकिन्छ भन्ने हो । तरलता पर्याप्त भएको र ब्याज पनि न्युन छ भने लगानी गर्दा प्रतिफल प्राप्त गर्न सकिने वातावरण पनि छ । यसरी हेर्दा हामी धेरै समस्यामा छैनौं  । कोरोना महामारीपछि आईटी क्षेत्रमा सुधार भए जस्तै अब कुन क्षेत्रमा कसरी अगाडि जान सकिन्छ भन्ने विषयलाई हेरेर जानुपर्ने आवश्यक्ता छ ।’

    उहाँले वित्तीय स्थिति सहज भएकाले यहि आर्थिक वर्षमा साढे पाँच वा छ प्रतिशतसम्मको आर्थिक वृृद्धिदर हासिल गर्न समस्या नरहेको बताउनु भयो । खरेलकाअनुसार सरकारी क्षेत्रबाट पुनर्निर्माणमा राम्रो योगदान हुने देखिँदै गर्दा निजी क्षेत्रबाट पनि सोही किसिमको अवस्था सिर्जना गर्न जरुरी छ ।