
मंगलवार , आश्विन ७, २०८२
भैरहवा, ७ असोज । रुपन्देहीको भैरहवामा डाण्डिया नाईट तथा भव्य भगवती रात्री जागरण–२०८२ हुने भएको छ । श्री श्री सार्वजनिक दुर्गा पुजा समिति मैत्रीपथ–५, अखाडा नम्बर २ को आयोजनामा यही असोज १४ गते डाण्डिया नाईट र १५ गते रात्री जागरण हुने भएको हो ।
समितिले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । समितिका अध्यक्ष रवि जयसवालले असोज १४ गते साँझ ६ बजेदेखि डाण्डिया नाईट सुरु हुने बताउनुभयो । त्यस्तै असोज १५ गते साँझ ७ बजेदेखि रात्री जागरण सुरु हुने उहाँले जानकारी दिनुभयो । सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथस्थित शिव मन्दिर अगाडि कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
कार्यक्रम संयोजक दीपेश गुप्ताले अघिल्लो वर्ष डाण्डिया नाईट कार्यक्रम गरिएको र यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले कार्यक्रम सञ्चालन गर्न सुरक्षा निकायसँग समन्वय गरिएको र कार्यक्रममा स्वयंसेवकहरु पनि परिचालन गरिने जानकारी दिनुभयो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सिसिटिभी क्यामेरा पनि जडान गरिने उहाँले जानकारी दिनुभयो ।
समितिका सचिव विशाल श्रीवास्तवले महानवमीका दिन हुने रात्री जागरणमा भण्डारा (प्रसाद वितरण) को पनि कार्यक्रम रहेको जानकारी दिनुभयो । रात्री जागरणमा भारतका प्रसिद्ध गायक प्रमोद चंचल, दिल्लीबाट झाँकी समूह आउने उहाँले बताउनुभयो । ‘भैरहवाका केही स्थानीय कलाकारलाई पनि मञ्च प्रदान गर्नेछौं, ’श्रीवास्तवले भन्नुभयो ।
समितिका सल्लाहकार सतिश कुमार कौसल (दीपक) ले यस्ता कार्यक्रमले बजार समेत चलायमान हुने बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका–५ की कार्यबाहक वडाअध्यक्ष किरन देवी सुनारले विगतदेखि नै हुँदै यो कार्यक्रमलाई वडा कार्यालयले सहयोग गर्दै आएको बताउनुभयो । वडा सदस्य सरस्वती श्रेष्ठले धार्मिक तथा साँस्कृतिक कार्यक्रम भएकोले सबैले मिलेर यसलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij