२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

जनउत्थानको साधारण सभाबाट निर्णय प्रमाणित प्रतिनिधि चयन

सोमवार , आश्विन ६, २०८२

  • 274
    Shares
  • 274
    Shares
  • भैरहवा, ७ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ स्थित कोटिहवामा रहेकोजनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको दशवटै शाखामा शनिबार एकैसाथ सुरु भएको साधारणसभा विभिन्न २२ वटा प्रस्ताव पारित गरी निर्णय प्रमाणितका लागि प्रतिनिधिसमेत छनोट गरेको हो ।

    जनउत्थान साकोस, पहुँच महिला साकोस, गौमुखी साकोस, बुद्ध बहुउद्देश्यीय सहकारी, पटाकसार साकोस, सुदृढ साकोस र सगोल महिला साकोस गरी हालसम्म ७ वटा सहकारीहरु एकीकरण गरी बनेको सहकारीमा हाल ३९ हजार २ सय ३७ सदस्यहरु रहेका छन् ।

    व्यवसायिक र आत्मनिर्भर सदस्य बनाउनु, गुणस्तरीय, सुरक्षित र प्रभावकारी वित्तीय सेवा प्रदान गर्नु, आधुनिक, दिगो र व्यवस्थित साकोस बनाउनु, सदस्यहरुको सु–सम्बन्ध स्थापना गरी समुदायमा साकोसको छवि उच्च राख्ने लगायतका उद्देश्य लिइ स्थापित संस्थाको २०८२ असार मसान्तसम्म कुल सम्पति ४ अर्ब ३० करोड ८४ लाख रहेको छ ।

    त्यस्तै शेयर पूँजी २८ करोड ४३ लाख, बचत संकलन ३ अर्ब ४४ करोड ९९ लाख, ऋण लगानी ३ अर्ब २९ करोड १३ लाख, जगेडा कोष ४० करोड ४७ लाख, शुद्ध बचत ११ करोड ९७ लाख रहेको छ ।

    रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको संस्था २०५९ सालमा ३१ जना सदस्यबाट सय÷सय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट सुरु भइ २०६२ पुस १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को रुपमा संस्था दर्ता भएको थियो । हाल १० वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।

    कुल सदस्यमध्ये १० हजार ८ सय ९१ जना सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको संस्थामा अहिले डिजिटल प्रविधिको प्रयोग गर्दे ९ हजार ३ सय ४४ जनाले मोबाइल बैकिंङ प्रयोग गर्दै आएका छन ।

    संस्थाका अध्यक्ष गिरी प्रसाद पुनले जनउत्थान आर्थिक मात्र नभइ सामाजिक रुपान्तरणका लागि पनि अग्रसर रहेको बताउनुभयो । उहाँले शेयर सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउने संस्थाको प्रयास केन्द्रित गर्ने, सेवालाई अत्याधुनिक, विस्तृत र प्रतिष्पर्धी बनाउँदै बचतमा न्यायोचित प्रतिफलको साथ सुरक्षित क्षेत्रमा लगानी गर्नेमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संस्थाको सेवा र व्यवस्थापनका कारण विभिन्न ब्राण्डबाट सम्मानित भएको र अहिले अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिन्ह सिल्भर एक्सेस ब्राण्डसमेत प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो ।

    ८९ जना कर्मचारी रहेको संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्वान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको उपाध्यक्ष सरु रानाले बताउनुभयो । वित्तीय संकटको बाबजुद सदस्यका माझ राम्रो छवि बनाउँदै सदस्यहरुको मन जित्न सफल संस्थाले १० प्रतिशत शेयर लाभान्स बाँडेको छ ।

    WhatsApp Image 2025-09-22 at 9.12.41 PM (1).jpeg

    सभामा सबै सेवा केन्द्र स्तरीय साधारण सभाबाट चयन भएका निर्णय प्रमाणित गर्ने प्रतिनिधिहरु, सबै सेवा केन्द्रका उपसमितिहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, कर्मचारीहरुको उपस्थितिमा संस्थाको अन्तिम निर्णय प्रमाणित सभा केही दिनमा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाले जानकारी दिनुभयो ।