दाङ, ६ असोज । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा संजीवनी शिक्षण अस्पताल’ को ‘शुभ साइत कार्यक्रम’ सोमबार दाङको घोराही उपमहानगरपालिका–३ स्थित भानपुरमा सम्पन्न भएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार यो अस्पतालको स्थापनासँगै दाङजिल्ला मात्र नभइ साविक राप्ती अञ्चलका प्युठान, रोल्पा, पुर्व तथा पश्चिम रुकुम र सल्यान जिल्लाका बिरामीहरु लाभान्वित हुनेछन् । उहाँले यस क्षेत्रबाट थप उपचार तथा विशिष्टीकृत सेवाका लागि रुपन्देही, बाँके, काठमाडौं जानुपर्ने बाध्यता हट्ने बताउनुभयो । उहाँका अनुसार करिब ४ अर्ब लगानीमा स्थापना भएको यो अस्पताल दशैं लगतै पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
‘हाल ३ सय शैयाबाट सुरुवात भइ आागामी ३ वर्षभित्र ५ सय शैयामा वृद्धि गरिने अस्पतालको लक्ष्य रहेको छ । अस्पताल सञ्चालनसँगै यस क्षेत्रका बिरामीहरुले आइसीयु, सिसियु, एनआइसीयु, पिआइसीयु, एमआइसीयु सेवा प्राप्त गर्नेछन्, ’उहाँले भन्नुभयो ।
अस्पतालमा विशिष्टीकृत सेवाहरु नासम्बन्धी न्यूरोलोजी, मुटुसम्बन्धी कार्डियोलोजी, पिसाबसम्बन्धी युरोलोजी, मृगौलासम्बन्धी नेफ्रोलोजी, पेटसम्बन्धी ग्यास्ट्रोलोजी सेवा पनि उपलब्ध उहाँले जानकारी दिनुभयो ।अस्पतालमा मृगौला बिरामीहरुका लागि डायलासिस, मुटुसम्बन्धी बिरामीका लागि क्याथ ल्याबका साथै ५० शैयाको आकस्मिक सेवा (इमर्जेन्सी सेवा) २४ औं घण्टा सञ्चालनमा रहनेछ । यसका साथै ‘बी’ श्रेणीका अत्याधुनिक प्रयोगशाला सेवाका साथै रेडियोलोजी अन्तर्गत एमआरआई, सिटी स्क्यान, भिडियो एक्स-रे, डिजीटल एक्स–रे सेवा प्रदान गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोकाले बताउनुभयो ।
अहिले करिब ५ विघाको क्षेत्रफलमा तीन तलाका ९ वटा भवनहरुबाट सुरु गरिएको यस अस्पतालको सञ्चालक समितिको अध्यक्ष युवा उद्यमी खुमा प्रसाद अर्याल हुनुहुन्छ । अर्याल युनिभर्सल मेडिकल कलेज, भैरहवा, नेपालगंज मेडिकल कलेज, कोहलपुर र गण्डकी मेडिकल कलेज, पोखरामा पनि साझेदार लगानीकर्ता हुनुहुन्छ ।
अस्पतालले यस क्षेत्रमा करिब ४ सयभन्दा बढी रोजगारीको अवसर श्रृजना गर्ने जनाएको छ । त्यस्तै स्वास्थ्य सेवाका अतिरिक्त निकट भविष्यमा मेडिकल शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस, ल्याब, फार्मेसी, हेल्थ एसिष्टेन्ट, स्टाफ नर्स लगायतको पढाइ सुरु गरिने अस्पतालले जनाएको छ ।
अस्पतालले ‘शुभ साइत कार्यक्रम’ को अवसर पारेर यस क्षेत्रका बिरामीहरुलाई लक्षित गरी सोमबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जसमा विरामीहरुले विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क परामर्शका साथै निःशुल्क चेकजाँच, ल्याब सेवा, इसिजी, भिडियो एक्स–रे तथा औषधीहरु प्राप्त गर्नेछन् ।