
सोमवार , आश्विन ६, २०८२
काठमाडौं, ६ असोज । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ ।
सोमवार पदभार ग्रहण लगत्तै उहाँले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ति नगर्नुहोस् । शिक्षा मन्त्रालयमा ढिलासुस्ति गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु ।’
उहाँले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामको लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij