
सोमवार , आश्विन ६, २०८२
भैरहवा, ६ असोज । तिलोत्तमा क्रिकेट लिग–२०८२ यही असोज १९ गतेदेखि सुरु हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समिति तिलोत्तमा–५, रुपन्देहीको आयोजनामा तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उक्त प्रतियोगितामा हुनेछ ।
सोमबार भलवारीमा आयोजित अक्सन कार्यक्रममा आयोजकले प्रतियोगितामा पाँचवटा विद्यालय र एउटा क्रिकेट एकेडेमी गरी ६ वटा टीमको सहभागीता हुने जानकारी गराएका छन् । सहभागी टीममा खेलासिकी एकाडेमी, नेपथ्य कलेज, बुटवल डाईनामाईट, विश्व लायन टटल्स, पी टु के डी र द रिभीभेलियन्स रहेका छन् ।१९ वर्षमुनीका कक्षा १२ सम्म अध्ययनरत खेलाडीहरु माध्यमिकस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने तिलोत्तमा क्रिकेट विकास समितिका उपाध्यक्ष कुष्ण भुसालले बताउनुभयो ।
अक्सन कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा क्रिकेट लिग महत्वपूर्ण कार्यक्रम र यसले क्रिकेट र खेलाडीको महत्व अझ बढ्ने बताउनुभयो । उहाँले तीनै तहका सरकारले यस्तो कार्यक्रममा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘तिलोत्तमा नगरपालिका तपाईहरुको साथमा छ, तिलोत्तमा क्रिकेट र फुटबलको उर्वरभूमि हो, ’उहाँले भन्नुभयो । तिलोत्तमा नगरपालिका खेलाडीलाई अगाडि बढाउने र सम्मान गर्ने पक्षमा रहेको नगरप्रमुख खाणले बताउनुभयो ।
खेलकुदको माध्यमबाट देशलाई विश्वमै चिनाउन सकिने उहाँको भनाइ छ । तिलोत्तमा क्रिकेट विकास समितिलाई अझ मजबुत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खेलकुदको विकासले आर्थिक विकासमा पनि टेवा पुग्ने उहाँले बताउनुभयो ।
त्यस्तै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले रुपन्देहीबाट क्रिकेटको इतिहास सुरु भएको बताउनुभयो । उहाँले राम्रो खेलाडी उत्पादन गर्ने उत्कृष्ट जिल्लाको रुपमा रुपन्देहीले पहिचान बनाएको बताउनुभयो । ‘विभिन्न क्षेत्रबाट क्रिकेटमा भएको योगदानलाई बिर्सन सकिन्न, ’उहाँले भन्नुभयो । अध्यक्ष थापाले तिलोत्तमा क्रिकेट विकास समितिले विगतमा पनि राम्राराम्रा कार्यक्रम गर्दै आएको बताउनुभयो । यसमा तिलोत्तमा नगरपालिकाको साथ र सहयोग रहदै आएको उहाँले बताउनुभयो । रुपन्देही क्रिकेट संघले आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ ।
तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अर्जुन पराजुलीको अध्यक्षता, उपाध्यक्ष कृष्ण भुसालको स्वागत तथा सचिव मिलन भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij