२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

नवनियुक्त चार मन्त्रीले लिए शपथ

सोमवार , आश्विन ६, २०८२

  • 295
    Shares
  • 295
    Shares
  • काठमाडौं, ६  असोज । नवनियुक्त चार मन्त्रीेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    सोमवार शीतलनिवासमा आयोजित समारोहमा उहाँहरुले सपथग्रहण गर्नुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराउनुभएको हो । 

    प्रधानमन्त्री सुशिला कार्कीले उनीहरुलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष नाम सिफारिस गर्नुभएको थियो । यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसक्नुभएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेर समेत गर्नुभएको छ । अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । यसअघि ४ सदस्यीय मन्त्रिपरिषद्मा सोमवार ४ जना थपिएपछि ८ सदस्यीय भएको छ ।

    आविष्कार वैज्ञानिक पुन, टेलिभिजनकर्मी खरेल, पूर्वन्यायाधीश सिन्हा र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक परियार मन्त्री नियुक्त हुनुभएको हो । गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नुभएको थियो । 

    शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्री लगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।