२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

भैरहवामा असोज ८ देखि १२ गतेसम्म ‘दशैं सस्तो बजार’

सोमवार , आश्विन ६, २०८२

  • 760
    Shares
  • 760
    Shares
  • भैरहवा, ६ असोज । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले २०८२ असोज ८ देखि १२ गतेसम्म भैरहवामा ‘दशैं सस्तो बजार’२०८२ आयोजना गर्ने भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ स्थित संघको परिसरमा बजार सञ्चालन गरिने अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो ।

    सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले पाँचदिने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहने बताउनुभयो । भैरहवा क्षेत्रका उपभोक्ता तथा अवलोकनकर्ताहरुको उल्लेखनीय उपस्थिति रहने अपेक्षा र ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

    आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दशैं, तिहार, छठ लगायतका महान पर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

    ‘उपभोक्ताको सहजता र सुरक्षाका लागि बजार क्षेत्रमा सिसिटिभी जडान, शुद्ध खानेपानी लगायतका सुविधा उपलब्ध गराइनेछ । दशैं बजारलाई सफल बनाउन उद्योगी–व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय तथा सञ्चारकर्मी सबैको सक्रिय सहभागीताका लागि विशेष अनुरोध गर्दछौं, ’उहाँले भन्नुभयो ।

    अध्यक्ष आचार्यका अनुसार संघले भैरहवामा पहिलोपटक वि.सं. २०५८ सालमा दशैं र तिहार बजार, दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दशैं बजार सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यो परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि संघ परिसरमा बजार आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

    संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले दशैं सस्तो बजारमा बाहिर बजार भन्दा केही प्रतिशत छुट प्रदान गरिने बताउनुभयो । पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले स्वदेशी बजारमा किनमेल गर्न उपभोक्तालाई उत्प्रेरित गर्ने उद्देश्यले दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको बताउनुभयो ।

    संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले आगामी दिनमा पनि दशैं सस्तो बजारलाई निरन्तरता दिइने बताउनुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले दशैं सस्तो बजारले आम उपभोक्तालाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।