
सोमवार , आश्विन ६, २०८२
जनकपुर, ६ असोज । हिन्दु धर्मावलम्वीहरुको पर्व दशैँ आजबाट शुरु भएको छ ।
दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना गरिँदैछ । जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ ।
राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुगेका छन् । यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई सिँगारीएको छ । प्रत्येक वर्ष दशैँमा हजारौँको संख्यामा राजदेवी मन्दिरमा भीड हुने गर्दछ । राम युवा कमिटीले बौधीमाता मन्दिर, अमरखाना मन्दिर र अन्नपूर्णा माता मन्दिरको पूजा व्यवस्थापन गर्दै आईरहेको छ ।
दशैँमा यी मन्दिरहरुमा घटस्थापनादेखि विजया दशमीसम्मका लागि सम्पूर्ण तयारी पूरा गरिसकिएको छ । जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष नवरात्रीको समयमा दैनिक हजारौँको भीड हुन्छ ।
दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत कठिनाई हुन्छ । प्रत्येक वर्ष राजदेवी मन्दिरमा सप्तमीदेखि अष्टमी दिनसम्म प्रसाद चढाउनेहरुको घुइँचो हुन्छ । राजदेवी माताको नवरात्री अन्तर्गत घटस्थापनादेखि नवमीसम्म विशेष विधि विधान पूर्वक गर्ने गरिन्छ ।
तान्त्रिक पद्धति अनुसार हुने राजदेवी माताको पूजाका लागि गणेश कलश, भैरव कलश तथा दुर्गा कलश स्थापना गरी घटस्थापना गरिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij