
सोमवार , आश्विन ६, २०८२
काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटको औचित्य सकिएको बताउनुभएको छ । सत्ता स्वार्थमा परेर उत्पीडित समुदाय र श्रमजीवी वर्गको समाजवादी पार्टीलाई फुटाएर समाजवादी आन्दोलनलाई कमजोर बनाउने अशोक राईलगायतका नेताहरुको कदम भएको भन्दै बस्नेतले जसपालाई जसपा नेपालसँगको एकता प्रक्रियामा आउन आग्रह गर्नुभयो ।
बस्नेतले भन्नुभयो, ‘अशोक राई सम्भवतः अहिले राजनीतिक रुपमा ठूलो संकटमा छन् । न उनको पार्टीले वैधता पाएको अवस्था छ न उनलाई आज सत्ताको आड छ । उनले पार्टी फुटको औचित्य पुष्टि गर्न सकेनन् ।’
बस्नेत निर्णय निर्माण र नीति निर्माणका दौरान नेतृत्वमाथि प्रश्न उठ्छ नै त्यो पार्टी फुटको कारण बन्नु हुँदैनथ्यो भन्दै तर्क गर्नुभयो । उपेन्द्र यादवको कार्यशैलीकै कारण पार्टी फुटको अवस्थामा पुगेको भनी तर्क गर्ने अशोक राईले अहिले आफ्नै पदाधिकारीले गर्ने गरेको उनको कार्यशैलीप्रतिको आलोचनाबाट पाठ सिकेको हुनुपर्ने बस्नेतले बतानुभयो । वैचारिक, सैद्धान्तिक बिमती नभई आन्दोलनलाई कमजोर पार्न पार्टी फुटाउने कार्य गलत भएको उहाँको टिप्पणी छ ।
एकले अर्कोलाई दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्ने प्रयास नगरी आफ्ना कमीकमजोरी सच्याई विचार मिल्ने दल र समुह एकताबद्ध बन्न सकेमात्र समाजवादी आन्दोलनलाई अगाडि बढाउन सकिने उहाँको भनाइ छ ।
बस्नेतले मूल पार्टीबाट अलग भएका पार्टी तथा नेताहरुलाई एकता प्रक्रियामा आउने वातावरण बनाउन र पार्टीलाई समयसापेक्ष रुपान्तरण गर्न ठोस पहल गर्न जसपा नेपालको नेतृत्वलाई आग्रहसमेत गर्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij