
आइतवार , आश्विन ५, २०८२
काठमाडौं, ५ असोज । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद विघटन गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद विघटन गर्न नहुने बताउनु भयो । परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने बताउनु भयो ।
ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने बताउनु भयो । आन्दोलनले कुनै संविधान, कानून नमान्ने भएपनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँधिनुपर्ने बताउनु भयो । नत्र वैधता प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘संसद विघटन भएपछि धेरैले आफ्ना कुराहरु राख्नुभयो । नेपाल बार एशोसिएशनले पनि १ बजे राति आफ्नो विज्ञप्ती निकाल्यो । यो संसद अनाहक विघटन गर्नुहुने थिएन । परिवर्तन आवश्यक थियो, परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुन्छ । मुलुकका शक्तिहरु जो हामी मानि आएका छौँ, ति शक्तिहरु चुनिन्छन् ।
पूर्व भए भन्दा फ्रेस म्याण्डेट आवश्यक पर्दछ । फ्रेस म्याण्डेट पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्छ भनेर वक्तव्य जारी गरेका थियौँ । आन्दोलनले कुनै संविधान, कानून मान्दैन तर आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँध्नुपर्दछ । नत्र वैधता प्राप्त गर्न सक्दैन ।’
उहाँले फागुन २१ गते नै निर्वाचन हुनेमा बार विश्वस्त रहेको बताउनु भयो । अहिलेको संसद निन्द्राको अवस्थामा गएको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij