
शनिवार , आश्विन ४, २०८२
भैरहवा, ४ असोज । रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा शनिबार तिलोत्तमा–५ स्थित मणिग्राममा सम्पन्न भएको छ । करिब १ हजार १ सय १९ जना सदस्यीय सहकारीले साधारणसभामार्फत विगत वर्षको समीक्षा र आगामी योजना सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका–५ का अध्यक्ष रमेश डुम्रेले सहकारीलाई समयसापेक्ष अगाडि बढ्नुपर्ने बताउँदै शेयर सदस्यको जीवनशैली परिवर्तन गर्ने खालका योजनाहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।
शेयर सदस्य घनश्याम खरालले सहकारीमा सबैको बराबरी सहभागिता आवश्यक रहेको बताउँदै सहकार्य र पारदर्शीताबाटै यसको विश्वास अझै बढ्दै जाने बताउनुभयो ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष बाबुुराम भण्डारीले संस्थालाई अगाडि बढाउन सबै सदस्यको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले संस्थाले गरेका गतिविधिहरुलाई आफूहरुले नजिकबाट नियालेको बताउँदै तलमाथि हुन नदिने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष सुुशिल पाण्डेले सहकारीको वित्तीय विवरण प्रस्तुत गर्दै अन्य सहकारीमा जस्तो समस्या रामवन सहकारीमा नरहेको र आर्थिक रुपमा पारदर्शी ढंगले अगाडि बढेको बताउनुभयो । उहाँले संस्थाको राम्रो कामलाई अन्य सदस्यलाई भन्ने र नराम्रो केही लागेमा सञ्चालक समितिलाई भन्नुुपर्ने बताउनुभयो । अध्यक्ष पाण्डेले अन्य सहकारीमा जस्तो आर्थिक अनियमिता हुुन नदिने बताउँदै संस्थाको हितमा एकबद्ध भएर सबै लाग्नुुपर्ने धारणा राख्नुभयो ।
संस्थामा आर्थिक वर्ष २०८१/८२ मा १५ करोड भन्दा बढी सम्पत्ति परिचालन भएको छ । आम्दानी करिब १ करोड १३ लाख र खर्च करिब ९८ लाख २४ हजार पुगेको छ । आगामी वर्ष आम्दानी करिब १ करोड ३१ लाख र खर्च करिब १ करोड ११ लाख रहने अनुमान गरिएको छ ।
साधारण सभामा सहकारीको कारोबार सकारात्मक देखिएको र भविष्यमा सदस्य–हितमा थप कार्यक्रम अघि बढाइने प्रतिवद्धता गरिएको छ । साधारण सभाको अवसरमा जेष्ठ नागरिक सम्मान, कक्षा १२ मा उच्च अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान र असल ऋणी सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij