
शनिवार , आश्विन ४, २०८२
रुपन्देही, ४ असोज । सितारा बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिबार तिलोत्तमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता, संस्थापक अध्यक्ष रामबहादुर खडकाको आतिथ्यतामा भएको साधारणसभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत भएको थियो ।
साधारण सभामा सञ्चालक समितिकोतर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ज्ञवालीले सहकारी क्षेत्रकै केही संस्थाको गलत नियतले अन्य सहकारीलाई असर गरे पनि सितारा सहकारीमा खराब कर्जा असुली वा ऋण लगानीमा समस्या नभएको बताउनुभयो । ‘तिलोत्तमा नगरकै उत्कृष्ट सहकारीका रूपमा यसले प्रतिष्ठा बनाएको छ,’ अध्यक्ष ज्ञवालीले भन्नुभयो । उहाँले सरकारले ल्याएको ‘एक सहकारी एक व्यक्ति’ नीतिअनुरुप सितारा सहकारीलाई सामाजिक उद्यमी सहकारी संस्था बनाउन पहल भइसकेको र सो प्रयोजनका लागि पुनर्लेखन विनियम २०८२ तयार भइसकेको जानकारी दिनुभयो ।
अध्यक्ष ज्ञवालीले गत वर्ष भन्दा सेयर संख्या थप भएको आर्थिक कारोबारमा मितव्ययिता अपनाई १० प्रतिशत लाभांश दिएको समेत बताउनुभयो । २०६४ सालमा २५ जनाबाट सुरु भएको यो सहकारीमा सदस्यको संख्या अहिले ८ सय पुगेको र यस वर्ष थप गरी १ हजार बनाइने बताउनुभयो ।
कोषाध्यक्ष पिताम्बर खनालले आय–व्ययको प्रतिवेदन र आगामी वर्षको लागि बजेट प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सुपरीवेक्षणको प्रतिवेदन लेखा संयोजक कृष्ण ज्ञवालीले सहकारीको अवस्थाबारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिक साधारणसभामा सहकारीका सल्लाहकार तथा संस्थापक अध्यक्ष राम बहादुर खड्का, सल्लाहकार यादव भण्डारी, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झबिन्द्र भण्डारी, सहकारीका सदस्यहरुकोतर्फबाट हरि ज्ञवाली लगायतले संस्थाको थप प्रगतिको लागि शुभकामना राख्नुभएको थियो ।
जेष्ठ नागरिक रामबहादुर खडका, असल ऋणी रेखा कुवंर थापा, कक्षा १२ र उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी सुशान्त खत्री र समीक्षा ज्ञवालीलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत जनज्योति विद्यालयका कक्षा ३ मा अध्ययनरत एकजना विद्यार्थी एक वर्षमा विद्यालयमा लाग्ने शुल्क १४ हजार उपलब्ध गराइएको थियो ।
सहकारीका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष रमेश पराजुलीको स्वागत तथा कमला ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij