
शनिवार , आश्विन ४, २०८२
भैरहवा, ४ असोज । संघीय लोकतान्त्रिक मोर्चाले संविधान दिवसलाई ‘कालो दिन’ को रुपमा मनाएको छ । सातदलीय मोर्चाले संविधान जारी भएको दिन (असोज ३) लाई कालो दिनका रुपमा मनाएको हो । २०७२ सालमा जारी भएको संविधान त्रुटीपूर्ण र विभेदपूर्ण भएको भन्दै मोर्चाले हातमा कालोपट्टी बाँधेर विरोध जनाएको छ ।
संघीय लोकतान्त्रिक मोर्चा रुपन्देहीले शुक्रबार मायादेवी गाउँपालिका–७ स्थित बनगाई चोकमा शोक सभा तथा दीप प्रज्वलन कार्यक्रम गरेको जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताउनुभयो ।
शोक सभामा बोल्दै जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले संविधान संशोधन नभए पुनः सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । ‘हामीले नेपालको संविधानमा आफ्ना अधिकार खोजेका छौं, ’उहाँले भन्नुभयो ।
पार्टीको लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य बच्चुलाल केवटले मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाति, महिला, दलित लगायत उत्पीडित समुदायलाई अधिकार दिन संविधान संशोधन गर्नुपर्ने माग गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले संविधान संशोधन नभएसम्म असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य नन्दा चौधरीले उत्पीडित जनताको छातीमा गोली हानेर जबरजस्ती संविधान जारी गरिएको बताउनुभयो ।
पार्टीको केन्द्रीय सदस्य आशिन गुरुङले अहिलेको संविधानमा उत्पीडित समुदायको अधिकार नलेखिएको बताउनुभयो । राष्ट्रिय मुक्ति पार्टी, नेपाल रुपन्देहीका अध्यक्ष मुकेश यादवले सीमाको रक्षा मधेशी समुदायले गरेको तर मधेशी समुदायलाई नै अधिकारबाट वञ्चित गरिएको बताउनुभयो ।
पार्टीको जिल्ला उपाध्यक्ष दिनेश मिश्राले जबरजस्ती संविधान जारी गरिएकोले यसको संशोधन आवश्यक रहेको बताउनुभयो । मायादेवी गाउँपालिका–७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले संविधानमा उत्पीडित समुदायको अधिकार समावेश नगरिए परिणाम राम्रो नहुने बताउनुभयो ।
जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको जसपा नेपाल रुपन्देहीका सचिव विष्णु अधिकारीले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij