२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

एमालेभित्र कुनैपनि किसिमको विग्रह हुन दिँदैनौँ : उपाध्यक्ष पोखरेल

शुक्रवार , आश्विन ३, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौं, ३ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गर्नुभएको छ।

    संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेभित्र अब के हुन्छ ? भनेर शंका गर्नेहरुप्रति लक्षित गर्दै एमालेलाई कुनै पनि किसिमको विग्रह हुन नदिने बताउनु भयो । उहाँले भएका कमजोरीहरु सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उहाँले एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी नभएको बताउँदै धुलो टक्टक्याएर पुनः उठ्ने बताउनु भयो ।  एमाले शान्त तलाउमा डुंगा चलाएर आएको, भुलुक्क उम्लिएको पार्टी नभएको बताउँदै समीक्षा गरेर अघि बढ्ने बताउनु भयो । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘म साथीहरुलाई संविधान दिवसको अवसरमा उपस्थित हुनुभएका मित्रहरुलाई के आग्रह गर्न चाहन्छु भने नेकपा एमालेले अहिले केही नोक्शानी सहनुपरेको छ । हामी धुलो टक्टक्याउँदै उठ्छौँ, उठिछोड्छौँ । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्छौँ ।

    देशव्यापी रुपमा संविधान दिवस मनाइरहँदा नेकपा एमालेभित्र कहीँ कतै केही होला भन्ने शंका होला । एमालेभित्र कुनैपनि किसिमको विग्रह हुनेवाला छैन । हामी विग्रह हुन दिनेवाला छैनौँ । कमजोरीहरु सच्चिन्छन्, कमजोरी सच्याउँछौँ तर विग्रह हुन दिँदैनौँ । यसको लागि हामी समीक्षा गर्दछौँ ।

    बितेका दिनमा हाम्रो यात्रा कस्तो रह्यो त्यसलाई फर्किएर हेर्छौं, सच्याउने अठोट र संकल्प गर्दछौँ । एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो भुलुक्क उम्लिएको पार्टी होइन, यो कसैले किस्तिमा हालेर दिएको उपहार होइन ।

    यो असंख्य हाम्रा अग्रज, शहीदहरुले लडाईं गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । यो पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौँ ।’

    वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक एकता खल्बलिए राष्ट्रिय एकता कमजोर हुने बताउँदै यस्तो हुन दिन नहुने जिकिर गर्नुभयो । नेपाल बहुजाती, बहुभाषा, बहुधर्म र बहुसंस्कृति भएको देश भएकाले नेपालको एकतालाई कायम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

    सामाजिक सद्भाव खल्बल्याउन चाहने तत्वहरु बेला बेलामा देखापर्ने गरेको भन्दै एमालेले सामाजिक सद्भाव खल्बल्याउन चाहने जुनसुकै शक्तिलाई पनि पराजित गर्ने बताउनु भयो ।