२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

असोज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय

शुक्रवार , आश्विन ३, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, ३ असोज । संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले विज्ञप्ति जारी गर्दै २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय भएको बताउनुभयो । मोर्चाकोतर्फबाट सामूहिक रुपमै कालोपट्टी बाँधी विभिन्नखाले कार्यक्रमहरु गरी प्रदर्शन गर्ने निर्णय गरिएको डा.यादवले जानकारी दिनुभयो ।

    विज्ञप्तिमा संविधानमा मधेशको असहमति रहँदा बाबजुद पनि राज्यले मधेशीमाथि दमन गरी सो संविधान जारी गरेको उल्लेख गरिएको छ ।

    २०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबरजस्ती एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावनाविपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएको मोर्चाको ठहर छ ।

    त्यस्तै सो दिन प्रहरीको गोली लागि मृत्यु भएको सम्झनामा र संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरी असोज तीन कालो दिनमा विभिन्न खाले विरोधका कार्यक्रमहरु गरी प्रदर्शन गर्दै आएकोमा सो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने विज्ञप्तिमा भनिएको छ ।

    त्यसै गरी भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा अराजक तत्वहरुले घुसपैठ गरी विभिन्न राजनीतिक दलको कार्यालय, लोकतन्त्रका प्रमुख आधारहरु राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाका भवनहरु लगातयका भवनमा क्षति पुर्याउनेहरुलाई छानबीन गरी कारबाही गरी क्षतिपूर्ति दिन सरकारलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

    साथै जेनजीको क्रान्तिपछि निर्माण भएको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मान्यताअनुरुप समानुपातिक समावेशीता अनुसार अघि बढ्ने सुझाएको छ । साथै संघीय लोकतान्त्रिक गणतन्त्र र मौलिक अधिकार लगायत जनताको अग्रगामी अधिकारलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्रहरु भए स्वीकार गर्न नसकिने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।