२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

‘लुटपाट र तोडफोड जस्ता घटनाले देशभित्रै केही गर्छु भन्नेहरुलाई निराश बनाउँछ’

बुधवार , आश्विन १, २०८२

  • 667
    Shares
  • 667
    Shares
  • भैरहवा, १ असोज । मौर्य होटल प्रा.लि.का भैरहवा, रुपन्देहीका अध्यक्ष राम बहादुर कोइरीले आफ्नो व्यवसायिक प्रतिष्ठान होटल मौर्यमा जेनजी प्रदर्शनकारीको नाममा अराजक समुहद्वारा गरिएको लुटपाट र तोडफोडले आफूलाई दुःखी तुल्याएको बताउनुभएको छ । उहाँले यस्ता क्रियाकलापले देशभित्रै केही गर्छु भन्ने भावना राख्नेहरुलाई निराश बनाउने बताउनुभयो ।

    यद्यपि विषम परिस्थितिको फाइदा उठाउँदै अराजक समूहले गरेको लुटपाट र तोडफोडको पीडालाई भुलेर आफू पर्यटन व्यवसायको प्रवद्र्धनमा अझै बढी सक्रिय रहने प्रण गरेको उहाँले बताउनुभयो । ‘सुशासन र परिवर्तनको मागसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका जेनजी समूहमाथि भएको गोली प्रहार र त्यसयता उत्पन्न अवस्थाको बीचमा भदौ २४ गते मेरो व्यवसायिक प्रतिष्ठान मौर्य होटल प्रा.लि. मा तोडफोड र लुटपाट भएको छ, ’उहाँले भन्नुभयो ।

    विभिन्न पेशा, व्यवसायमा संलग्न रहँदै करिब एक दशकदेखि पर्यटन व्यवसायमा आबद्ध रहेको उहाँले बताउनुभयो । ‘पछिल्ला केही वर्षयता सुशासन, समृद्धि, विकास र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहँदै राजनीतिक गतिविधिमा निष्कृय रहेको छु । राम्रो काम गर्ने, विकास र समृद्धि चाहने, उद्योग–व्यवसायको प्रबद्र्धनमा कटिबद्ध रहने हरेक पार्टी र नेताप्रति मेरो समर्थन रहँदै आएको छ, ’कोइरीले भन्नुभयो ।

    अहिलेको युवा पुस्तामा देखिएको राजनीतिक दलप्रतिको असन्तुष्टिमा आफ्नो पनि सहमति रहेको उहाँको भनाइ छ । ‘तर, म हत्या, हिंसा, लुटपाटको विरोधी हुँ, शान्ति, सुशासन र समृद्धिको पक्षधर हुँ । पर्यटन व्यवसायको प्रबद्र्धनका साथै रोजगारीका अवसर सिर्जना गर्नबाहेक मैले अहिले केही पनि सोंचेको छैन, ’कोइरीले भन्नुभयो ।

    सुशासन र समृद्धि माग्ने जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ का दिन दिवंगत हुनुभएका युवाहरु, सुरक्षाकर्मी तथा सर्वसाधारण सबैमा उहाँले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै उहाँले आन्दोलनका क्रममा भएका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

    आन्दोलनका क्रममा गरिएका उद्योग, व्यवसाय र निजी भवनहरुमा गरिएको तोडफोड, आगजनी र लुटपाटका घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्ति दिन उहाँले सरकारसँग माग गर्नुभएको छ ।